बाढी र डुबानमा परेर बाँकेमा चार जनाको मृत्यु

66

नेपालगन्ज, असार १८-
बाढी र डुबानमा परेर बाँकेमा ४ जनाको मृत्यु भएको छ । दुई बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टी गरेको छ । बैजनाथ गाउँपालिकामा दुई र कोहलपुर नगरपालिका तथा डुडुवा गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बैजनाथ गाउँपालिका वडा नम्बर ३ का ६५ बर्षिय तुलाराम बुढा, बैजनाथ ५ का ३५ बर्षिय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका वडा नम्बर ४ गौवागाउँ निवासी ४ बर्षिय बालक रन्जित पासी र डुडुवा गाउँपालिका वडा नम्बर २ निवासी ४ बर्षिया रिमा कुमारी यादवको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ज्यान गुमाएका चार जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।

मृतक सुनारलाई स्थानीय ज्वालीपुर नाला र बुढालाई जेठी नालाले बगाएको थियो । ‘वर्षा भएपछि बढेर आएको खोला तर्ने क्रममा दुबै जनालाई बगाएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख(एसपी) टेकबहादुर तामाङले भने ‘बगेर बेपत्ता भएका दुबैको शव फेला परिसकेको छ ।’ कोहलपुरस्थित गौवागाउँका ४ बर्षिय बालक पासीको घर नजिकको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट चिप्लिएर नाला लडेका बालक डुबेर मृत अवस्थामा फेला परेका थिए । डुडुवाकी रिमाकुमारीको घर नजिकैको पानीमा डुबेर मृत्यु भएको बताइएको छ । अविरल रुपमा परेको वर्षाका कारण जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । जिल्लाका विभिन्न भाग जलमग्न भएका छन् । वर्षाले सडक जलमग्न भएपछि यातायात सेवा समेत प्रभावित भएको छ ।

तस्बिर साभार : सामाजिक सञ्जाल

Womui
Womui