७ वर्षमा आउला चिनियाँ रेल काठमाडौंमा ?

108

छिनछिन खबर
काठमाडौं, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा चिनियाँ रेल पुग्नेमा आफू विश्वस्त रहेको बताएको बेला धेरैलाई चासो लाग्न थालेको छ– चिनियाँ रेल काठमाडौं कहिले पुग्ला ?

राष्ट्रपति सीले नेपालसम्म चिनियाँ रेल कहिले पुग्ला भनेर कुनै मिति नतोके पनि नेपाली अधिकारीहरूले भने सात वर्षसम्म चिनियाँ रेल नेपाल आइपुग्ने बताउन थालेका छन् । के साँच्चै सात वर्षमा चिनियाँ रेल नेपालसम्म आइपुग्ने सम्भावना छ त ? नेपालको तयारी हेर्दा त्यसो देखिँदैन । तर, चीनले चाह्यो भने असम्भव पनि छैन । अहिलेसम्म भने केरुङ नाका हुँदै काठमाडौंसम्म रेल आइपुग्छ या पुग्दैन भन्नेमा अन्योलता छ । किनकि निकै अग्लो स्थानबाट ओरोलेर विश्वमै कतै रेल चलाइएको छैन ।

प्राविधिक रूपमा केरुङबाट काठमाडौं (७२ किमी) रेल ल्याउन सम्भव हुन्छ या हुँदैन भन्नेबारे यतिखेर चीनको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ । उक्त टोलीले अगष्टसम्म अध्ययन गरेपछि मात्र चिनियाँ रेल काठमाडौंसम्म आइपुग्ने या नपुग्ने यकिन हुनेछ ।
चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अन्तरदेशीय रेलमार्गलाई नेपालले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै अबको सात वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने अपेक्षा गरेको बताए ।

उनले पूर्व सम्भाव्यता अध्ययन नेपाली प्राविधिकसहितको टोलीले अगष्टसम्म सकिने र डिपिआर सुरु हुने विश्वास व्यक्त गर्दै नेपालको अर्थतन्त्रका लागि बहुआयामिक महत्वको रेलमार्ग विस्तारमा नेपालले पनि लगानी गर्ने बताए ।
‘चीनको रेल काठमाडौँ पुग्नेछ, यसले नेपालको विकासमा ठूलो सहयोग पुग्नेछ,’ चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘राष्ट्रपति सीले नेपालको चाहनालाई ‘इन्डोर्स’ गर्नुभएको छ ।’

Womui
Womui