रुपन्देहीलाई तेस्रो नेपालगन्ज गोल्डकपको उपाधी 

30

नेपालगन्ज, जेठ २६-
टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधी लाली रुपन्देही–११ ले जितेको छ । गतवर्षकै फाइनलिष्ट संकटा क्लब, काठमाडौंलाई १ शुन्य गोलले पाखा लगाउँदै रुपन्देहीले लगातार दोस्रो पटक नेपालगन्ज गोल्डकप जितेको हो । प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीका जोन ग्लोरीले ५३ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । दुबैतिरबाट आक्रमक प्रयास भने भएका थिए । गोल गर्ने अवसर तुलनात्मक रुपमा संकटाले बढी पाएको थियो । गोल्डकप जितेसँगै रुपन्देहीले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ ।

दोस्रो भएको संकटाले दुई लाख पचास हजार पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रुपन्देहीका कप्तान दीपक गुरुङ भएका छन् । उनले सुजुकी मोटरसाइकल प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलकिपर रुपन्देहीका राजुबाबु मगर, रक्षकमा रुपन्देहीकै युधा शाही, मिडफिल्डरमा संकटाका सौजन राई र उत्कृष्ट फरवार्ड संकटाकै शान्त गुरुङ भएका छन् । उनीहरुले सबैले दश÷दश हजार रुपैयाँ पाएका छन् । विजेता र उपविजेता टीम, उत्कृष्ट खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पुरस्कार वितरण गरे । विधागत उत्कृष्ट खेलाडीलाई खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, कोहलपुरकी उपमेयर सञ्जुकमारी चौधरी, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बि.क लगायतले पुरस्कार वितरण गरे ।

सो अवसरमा मेयर डा. राणा, बाँके फुटबल संघका अध्यक्ष भोजराज शाही, खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले विजयी टीमलाई बधाई दिदै खजुराका जनताले देखाएको अनुशासनको प्रसंगा गरे । नेपालगन्ज रंगशाला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मर्मत भइरहेपछि गोल्डकप खजुराको डीगाउँमा गरिएको थियो । संघका अध्यक्ष शाहीले नेपालगन्ज रंगशालाको विकल्प खजुराको मैदान हुन सक्ने बताए । खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले खजुरामा रंगशाला बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।

Womui
Womui