डि सिने अवार्ड सम्पन्न, यी हुन् अवार्ड पाउनेहरू

112

छिनछिन खबर
काठमाडौं, जेठ ११ । डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न डि सिने अवार्ड आयोजना गरिएको छ । डि सिने अवार्डमा फिल्म ‘मंगलम’ ले ३ र गैर प्रतिस्पर्धामा २ गरी पाँच विधामा अवार्ड जितेको छ ।

नवल नेपालद्वारा निर्देशित फिल्मका लागि विधागततर्फ विन्दु परियार ‘उत्कृष्ट गायिका’, मिथिला शर्मा ‘उत्कृष्ट चरित्र अभिनेत्री’, मित्रदेव गुरुङ ‘उत्कृष्ट सम्पादक’ बन्न सफल रहे । गैर विधाका लागि नायक पुष्पल खड्काले ‘क्रिटिक्स अवार्ड’ र निर्देशक नवल नेपालले ‘जुरी अवार्ड’ प्राप्त गरे ।

अवार्डमा फिल्म ‘कृ’ र ‘लिली बिली’ ले चार–चार विधाको अवार्ड जिते । फिल्म ‘कृ’ ‘उत्कृष्ट फिल्म’ बन्यो भने अभिनेता अनमोल केसी ‘उत्कृष्ट अभिनेता’, छाँयाकार पुरुषोत्तम प्रधान ‘उत्कृष्ट छाँयाकार’ र ग्लेज इन्टरटेनमेन्ट ‘उत्कृष्ट एनिमेसन’ विधामा अवार्ड जित्न सफल भए ।

त्यस्तै मिलन चाम्सले निर्देशक गरेको फिल्मका लागि निर्देशक मिलन चाम्स ‘उत्कृष्ट निर्देशक’, एलिश कार्की ‘उत्कृष्ट पाश्र्वसंगीत’, प्रदिप भारद्वाज ‘उत्कृष्ट पटकथा’ र जसिता गुरुङ ‘उत्कृष्ट नव–नायिका’ घोषित भइन् । अवार्डमा फिल्म ‘पञ्चायत’ की नायिका नीता ढुंगाना ‘उत्कृष्ट नायिका’ हुन सफल भइन् ।

फिल्म ‘संरक्षण’का लागि सुनयमान श्रेष्ठ ‘उत्कृष्ट ध्वनि मिश्रण’, धिरेन्द्र प्रेमर्षि ‘उत्कृष्ट गीतकार’ र निर्देशक झा ‘इन्करेज अवार्ड’को विजेता भए । फिल्म ‘ए मेरो हजुर २’ का लागि निर्देशक झरना थापा ‘उत्कृष्ट नवनिर्देशक’, सलिनमान बनियाँ ‘उत्कृष्ट नवनायक’ र सलोन बस्नेत ‘उत्कृष्ट सह अभिनेता’ बने ।

फिल्म ‘ऐश्वर्य’ का लागि सुगम पोखरेल ‘उत्कृष्ट गायक’, प्रशान्त ताम्राकार ‘उत्कृष्ट खलपात्र’, फिल्म ‘दुई रुपैंयाँका लागि राजनराज शिवाकोटी ‘उत्कृष्ट संगीतकार’, कविराज गहतराज ‘उत्कृष्ट नृत्य निर्देशक’, दिपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा २’ अवार्डमा ‘उत्कृष्ट पपुलर चलचित्र’ बन्न सफल भए । सोही फिल्मकी कलाकार वर्षा राउत ‘उत्कृष्ट सह अभिनेत्री’, र केदार घिमिरे ‘उत्कृष्ट हास्यकलाकार’ घोषित भए ।

फिल्म ‘घामपानी’का लागि दीपेन्द्र लामा ‘उत्कृष्ट संवाद’, पुष्कर गुरुङ ‘उत्कृष्ट चरित्र अभिनेता’, फिल्म ‘रुद्र’का लागि हिमाल केसी ‘उत्कृष्ट द्वन्द्व निर्देशक’, फिल्म ‘पिँजडा ब्याक अगेन’का लागि कुसाग्र भट्टराई ‘उत्कृष्ट बालकलाकार’, फिल्म ‘भूँइमान्छे’का लागि नवराज बुढाथोकी ‘उत्कृष्ट कथा’ घोषित भए । अवार्डमा फिल्म ‘ब्लाइण्ड रक्स’ले ‘क्रिटिक्स अवार्ड’ पायो ।

कार्यक्रममा फिल्म ‘आमा’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री बसुन्धरा भुषाललाई ‘छायाँ छवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरियो । त्यस्तै वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जन र कलाकार तथा निर्मात्री मौसमी मल्ललाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ दिइयो । पत्रकार श्याम अर्याललाई वर्षको ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

Womui
Womui