धनी हुँदै नेपाली, प्रतिव्यक्ति आम्दानी एक लाख बढी

91

मालती ओली
काठमाडौं, वैशाख १२ । नेपाली धनी हुने क्रम बढेको छ । आर्थिक गतिविधि बढेसँगै पहिलोपटक नेपालीको प्रतिव्यक्ति आम्दानी एक लाख रुपैयाँ भन्दा बढी नाघेको छ । गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १५ हजार रुपैयाँले वृद्धि भएको हो ।

मुलुकको कुल ग्राहस्थ उत्पादन ३० खर्ब रुपैयाँमाथि पुगेपछि प्रतिव्यक्ति आम्दानी पनि त्यसै अनुसार बढेको हो । प्रतिव्यक्ति आम्दानीसँगै नेपालको आर्थिक वृद्धिदर पनि ५.८९ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणमा प्रतिव्यक्ति आम्दानी वृद्धि भएको पाइएको हो । अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी करिब ८७ हजार रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७४÷७५ को तथ्यांक सार्वजनिक गर्दै विभागका महानिर्देशक सुमनराज अर्यालले गैरकृषि क्षेत्रको आर्थिक क्रियाकलाप वृद्धि हुँदा प्रतिव्यक्ति आम्दानी बढेको बताए । विभागले सार्वजनिक गरेको प्रतिव्यक्ति आम्दानी विवरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्सलाई जोडिएको छैन । रोजगारीमा जाने नेपाली दुई वर्ष भन्दा बढी विदेशमा बस्ने गरेकाले नौ महिनाको अध्ययनमा रेमिट्यान्सलाई नसमेटिएको विभागले जनायो ।

अघिल्लो वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीले छ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका थिए भने चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीबाट चार खर्ब ७१ अर्ब २६ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्सलाई समेत जोड्ने हो भने प्रतिव्यक्ति आम्दानी एक लाख २५ हजार रुपैयाँ हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

Womui
Womui