पाँच लाख पयर्टक लैजाने गरी रारा–कर्णाली पर्यटन वर्ष सुरु गरिँदै

154

मालती खड्का
काठमाडौं, चैत २७ ।  पाँच लाख पर्यटक लैजाने गरी सुरु गरिन थालिएको रारा–कर्णाली पर्यटन वर्षको तयारी अन्तिम चरणमा पुगेको छ । २०७५ को पहिलो दिन बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा पुगेर पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
पर्यटनको प्रचुर सम्भावना रहँदारहँदै त्यसबाट लाभ लिन नसक्दा गरिबीमा सुधार हुन नसकेको बेला कर्णाली प्रदेशको सरकार पर्यटन क्षेत्रबाट लाभ लिन कस्सिएको हो ।

बैशाख १ गते सुरु हुने रारा–कर्णाली पर्यटन वर्षले २०७५ सालभरि कर्णाली प्रदेशमा पाँच लाख पर्यटक जाने कर्णाली प्रदेशमा सामाजिक विकास मन्त्री दल रावलले बताए । कर्णाली प्रदेशमा पर्ने १० जिल्ला भौगोलिक वनावटको दृष्टिकोणले निकै सुन्दर भए पनि बाहिरबाट पर्यटक नजाँदा पर्यटन क्षेत्रको उपयोग हुन सकेको छैन । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७५ भरि पाँच लाख पर्यटक पु¥याउन जोडतोडका साथ काम गर्ने बताए । हाल कर्णालीमा वर्षभरि ५० हजार जति पर्यटक पुग्ने गरेका छन् ।

‘एकैचोटी ठूलो संख्यामा पर्यटक लैजाँदा अप्ठेरो हुने भए पनि स्थानीय तहमा त्यसो हुन दिँदैनौं । पर्यटकलाई सन्तुष्ट बनाएरै फिर्ता गर्छौं र पटक पटक कर्णाली पुग्ने बनाउँछौं,’ शाहीले भने । पर्यटन वर्षको अवसरमा खस भाषा र संस्कृतिको प्रचारप्रसारको साथै ¥याफ्टिङ, टे«किङलाई पनि जोड दिइने योजना छ ।

३० हजार दुई सय नौ वर्ग किलोमिटर (कुल भू–भागको २०.२२ प्रतिशत) क्षेत्रफल रहेको कर्णाली प्रदेशको जनसंख्या १५ लाख ७० हजार चार सय २१ (कुल जनसंख्याको ५.४ प्रतिशत) छ । औसत आयु ६५.६६ वर्ष रहेको कर्णालीको साक्षरता दर ५८ प्रतिशत छ भने ५२ प्रतिशत सर्वसाधारण गरिबीको रेखामुनी छन् ।

हालसम्म कर्णालीबाहिर बसोबास गर्ने कतिपयले भौगोलिक बनावटले गर्दा कर्णाली प्रदेशमा संघीयता चल्न गाह्रो हुने ठान्छन् । तर, मुख्यमन्त्री शाही भने पुरानो सोचका कारण कतिपयलाई त्यस्तो लागे पनि यथार्थतामा त्यस्तो नहुने बताउँछन् । ‘कर्णाली पर्यटन, जडीबुटी, फलफूल र कृषिका लागि उर्वर छ,’ शाहीले भने, ‘समस्या छ त केवल श्रम नगर्ने प्रवृत्तिको ।’ श्रम गर्ने माहोल सिर्जना गरेर कर्णालीलाई समृद्ध पारिने उनले बताए । केही महिनामै कुन वर्ष के काम गर्ने भनी दीर्घकालीन कार्यतालिका सार्वजनिक गर्ने उनको भनाइ छ । अहिलेसम्म अर्गानिक जिल्लाको रूपमा जुम्लामात्र चिनिँदै आए पनि अब पूरै कर्णाली नै अर्गानिक बनाउने प्रदेश सरकारको तयारी छ ।

कर्णालीको गरिबी न्यूनिकरण गर्ने एक मात्र उपाय स्थानी तहमा उत्पादन वृद्धि तथा पर्यटनको विकास नै हो भन्नेमा कर्णालीको प्रदेश सरकार प्रतिबद्ध देखिएको छ । ‘प्रदेश सरकारले बनाएको योजनामा स्थानीय तहबाट पूरै सहयोग हुन्छ,’ पर्यटन वर्षको प्रचारप्रसार संयोजकसमेत रहेका सामाजिक विकास मन्त्री रावलले भने, ‘पर्यटन वर्षमा कर्णाली पुग्ने पर्यटकलाई सकभर स्थानीय अर्गानिक उत्पादन मात्र खुवाउनेछौं ।’
हाल कर्णालीलाई भोकमरीग्रस्त क्षेत्र भनेर चिनिन्छ । तर, त्यहाँका जनप्रतिनिधि भने कर्णाली भोकमरीग्रस्त नभएको दावी गर्छन् । केन्द्रीकृत संरचनाले कर्णालीमा उत्पादन नभई चामल बिक्री गर्न खोज्दा परिचय नै बदलिएको गुनासो छ । मुख्मन्त्री शाहीले प्रदेश सरकारले कर्णालीमा सुन फलाउने गरी काम गर्ने बताए ।

‘स्रोतको दृष्टिकोणले कर्णालीमा सुन फलाउन सकिन्छ,’ उनले भने, ‘तर, अहिलेसम्म श्रम गर्ने वातावरण तयार पारिएन । जसले गर्दा कर्णाली पछि परिरह्यो ।’ अब कर्णालीमा कोही पनि काम गरेर बस्न नसक्ने र काम नगरी ठालू बन्न पनि नपाइने उनको भनाइ छ । ‘विश्वका कतिपय मुलुकले मरुभूमिमा बालीनाली उत्पादन गरेर अरुलाई समेत दिएका छन् । हामी तिनका कुरा सुनेर बसेका छौं,’ शाहीले भने, ‘अब त्यस्ताका कुरा सुन्ने होइन कि मेहनत गरेर कर्णालीलाई आत्मनिर्भर बनाउँछौं ।’ कर्णालीका पर्यटन मन्त्री नन्दसिंह बुढाले पर्यटन वर्षले कर्णालीको आर्थिक गतिविधिमा ठूलो सहयोग गर्ने अपेक्षा लिएको बताए ।

कर्णालीका मुख्य पर्यटकीय क्षेत्रमा मुगुको रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, डोल्पाको शे गुम्बा, फोक्सुन्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, जुम्लामा पर्ने नेपाली भाषा तथा सम्भताको उद्गदम थलो सिँजा उपत्यका, सुर्खेतको काँक्रेबिहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालिकोटको पञ्चदेवल, रास्कोट, पातल छहरा, हुम्लाको लिमी उपत्यका, मानसरोवर यात्रा हुन् । त्यस्तै सल्यानको कुपिन्डे दह, रुकुमको स्र्यापु दह, जाजरकोटको ठाकुरजी दह, दैलेखको ज्वाला, दुल्लु दरबार पनि कर्णाली प्रदेशका मुख्य पर्यटकीय स्थल हुन् ।

Womui
Womui