यसरी भत्काए अछामका महिलाले छाउ गोठ

289

सपना शर्मा
अछाम चैत २१ । स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइँदै छन् । मेल्ले ख–७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ । गाउँगाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ । कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय गाउँमा यस्ता गोठ भत्काउनको लागि मेलोमेसो मिलाउने काम भइरहेको छ ।

महिनावारी भएका बेला घरदेखि टाढा बस्नु ठिक नहुने निष्कर्षसहित निकाल्दै मेल्ले ख गाउँपालिका –७ नन्देगडाको दुपाल्त टोलका महिलाले छाउपडी गोठ भत्काउँदै छन् । बढी स्याहारसुसार चाहिनुपर्ने महिनावारीका बेला गोठमा बस्नुपर्दा ज्यानसमेत गुमाउन र विभिन्न खाले हिंसा सहनु परेकाले गाउँमा यस्ता गोठ भत्काएर महिनावारीमा घरमै बस्न थालेको स्थानीय अगुवा पुतलीदेवी खत्रीले बताइन् ।
स्थानीय महिलाले बुधबार गाउँका सबै गोठ भत्काएको उनले जानकारी दिइन् ।

यसअघि आफूहरु नबुझेर र अन्धविश्वासमा परेर गोठमा बसिरहेको पुतलीले सुनाइन् । उनले महिनावारीका बेला घर छाडेर छाउपडी गोठमा बस्दा ज्यान समेत जान सक्ने बताइन् । गाउँका सबै महिला र पुरुषमा महिनावारी ‘पाप होइन चक्र’ हो भन्ने चेतना आएपछि छाउपडी गोठ भत्काउन एकमत भएको उनले बताइन् ।

महिला सचेत बन्दै गएपछि जिल्लाका अन्य ठाउँमा पनि छाउपडी गोठ भत्काइने क्रम चलेको जानकारी उनले दिइन् । सरकारले छाउपडी प्रथालाई कुप्रथा घोषित गरी फौजदारी अपराध मानेर कानुन निर्माण गरिसकेको छ । सरकारको यो कदमबाट उत्साहित भएर महिला स्वयं छाउपडी गोठ भत्काउन जुटेका हुन् । महिनावारीका बेला महिलालाई छाउपडी गोठमा बस्न पठाउने घरपरिवारलाई गाउँपालिका र वडाबाट प्रदान गरिने सेवा रोक्ने निर्णय पनि भएको स्थानीय हिरा विकले बताइन् ।

स्थानीय तहले पनि छाउपडी प्रथा अन्त्य गर्न गोठमा बस्न लगाउने घरपरिवारलाई सेवा सुविधा रोक्ने निर्णय गरेपछि मल्लेख गाउँपालिकाका प्राय गाउँमा गोठ भत्काउने अभिनय चलेको छ । महिनावारीका बेला घरमै बस्दा देवीदेउता रिसाउँछन् भन्न्ो मान्यता बोकेका स्थानीयले गोठ भत्काएपछि देउतालाई खुसी पार्न पुज्ने काम गरेका छन् । महिनावारी भएका महिलालाई अब घरमै राख्छौं ।

महाराजा प्रभु कही दोष नलागोस् भनेर स्थानीयले कुल देवतालाई घण्ट, त्रिशुल चढाइसकेका छन् ।,’ धौलपुर देवताका पुजारी जोगी लोहारले बताए । महिनावारीका बेला घरमै बस्दा देवीदेउता रिसाउने अन्धविश्वासले गर्दा यो कुप्रथाले निरन्तरता पाएको स्थानीय महिला बताउँछिन् ।
म्हिनावारीका बेला छाउपडी गोठमा बस्दा एक बर्षयता तीनजनाको ज्यान गएको छ । तुर्माखादकी गौरी बुढा, गाज्राकी १५ वर्षीय रोशनी तिरुवा, तिमिल्सेनकी २६ वर्षीय डम्बरा उपाध्याय छाउपडी गोठमा मृत अवस्थामा भेटिएका थिए ।

डम्बराको तेस्रो रातमा मृत्यु भएको उनको परिवारले जानकारी दिएको छ । महिला तथा बालबालिका कार्यालय अछामको रेर्कड अनुसार पछिल्लो दशकमा १२ जानाले छाउपडी गोठमा ज्यान गुमाएका छन् । गाउँगाउँमा खोजी पस्ने हो भने यसरी मर्नेको संख्या अझै धेरै हुनसक्ने महिला अधिकारकर्मी बताउँछन् ।

म्हिनावारी हुँदा पोषिलो खानेकुरा खानु हुँदैन, घरमा बस्नु हुँदैन भन्ने अन्धविश्वासका कारण महिला मात्र नभई दूधेबालक समेत कुपोषण र निमोनियाको सिकार हुने गरेका छन् । राम्रोसँग हावा नछिर्ने, खुट्टा तानेर राम्ररी सुत्न नमिल्ने सानो गोठमा आमासँगै बस्नुपर्दा दूधेबालक कुपोषित हुनाको साथै चिसोका कारण निमोनियाको सिकार हुने गरेको स्वास्यकर्मी बताउँछन् ।

Womui
Womui