क्षतिपूर्ति माग्दै किसानहरु बिद्युत प्राधिकरणमा

73

नेपालगन्ज, भदौं १५–
नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र मार्फत बितरित बिद्युतमा भइरहेको अनियमितता विरुद्ध बाँके सितापुरका किसानहरु ज्ञापन पत्र सहित बुधबार बिद्युत कार्यालय पुगेका छन् । लामो समयदेखि पानी नपर्दा परेको खडेरी र बिद्युत अनियमिताका कारण किसानले लगाएको धान बाली ५० प्रतिशत नष्ट भएको भन्दै बाँकी बचेको धान बाली जोगाउन बिद्युत नियमित गर्न उनीहरुले अनुरोध गरेका हुन् । झण्डै ५०/६० जना किसानहरु नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र पुगेका थिए ।

सितापुर गाविस वडा नम्वर ५ वडा नागरिक मन्चका संयोजक गंगा थापाको अगुवाईमा आफ्ना गुनासो राख्न बिद्युत पुगेका थिए । बिद्युत कार्यालय पुगेका किसानले बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र प्रमुख उमेशकुमार झाँ समक्ष आफ्ना गुनासा तथा समस्याहरु पोखेका थिए । ज्ञापनपत्र हस्तान्तरणको सहजिकरण गर्दै बासका कार्यक्रम अधिकृत हेमराज भट्टले किसानहरुको समस्यालाई ध्यानमा राख्न प्रमुख झाँलाई अनुरोध गरेका थिए ।

उनले बिद्युत प्राधिकरणले प्रभावकारी सञ्चारमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । प्रमुखसँगको भेटमा किसानले झ्याप झ्याप बत्ति आउँदा–जादा भएको क्षति, लो भोल्टेजबाट परेको मर्का लगायतका बिषयमा गुनासा राखेका थिए । सिचाईका लागि लगातार ४ घण्टा बिद्युत सप्लाई आवश्यक पर्ने भएकाले उपलब्ध गराउन किसानहरुले गरेको अनुरोधलाई प्रमुख झाँले स्वीकार गर्दै दिनमा जसरी भएपनि ४ घण्टा नियमित बिद्युत दिने ब्यवस्था मिलाउने आश्वासन दिएका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख झाले पत्र मार्फत गरिएको मागलाई तत्काल केन्द्रमा पठाउने प्रतिवद्धता जनाए ।

Womui
Womui