दलिय स्वार्थले स्थानीय तह पुनःसंरचना गर्न ढिलाई

110

नेपालगन्ज, भदौ १५–
दलिय स्वार्थका कारण बाँकेमा स्थानीय तह पुनःसंरचना गर्न कठिनाई उत्पन्न भएको छ । पटक–पटक छलफल गर्दापनि सहमती हुन नसकेपछि अन्यौलता छाएको छ । स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले बुधबार नेपालगन्जमा गरेको छलफलबाट पनि ठोस निर्णय हुन सकेन् । बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा नेपाल, राष्ट्रिज जनमोर्चा, मजदुर किसान पार्टी र मधेसवादी दलको आ–आफ्नै अडानका कारण सहमती हुन नसकेको हो । दलहरु बीच सहमती नहुँदा राज्य पुनःसंरचना आयोगले तोकिएको समयभित्र जिल्ला प्राविधिक सहयोग समितिले प्रतिवेदन बुझाउन सकेको छैन ।

नेपालगन्जमा बुधबार आयोजित स्थानीय तह पुनःसंरचना सम्वन्धी छलफलमा सहभागी ।
नेपालगन्जमा बुधबार आयोजित स्थानीय तह पुनःसंरचना सम्वन्धी छलफलमा सहभागी ।

एक महिना अघि जिल्ला विकास समितिमा भएको बृहत छलफलमा स्थानीय तहको सिमांकनका विषयमा सबै दलले आ–आफ्नो खाका प्रस्तुत गरेका थिए । कसैको खाका मिल्दो जुल्दो नहुँदा समितिलाई निर्णय गर्न कठिनाई भएको हो । पुर्वी गाविस र पश्चिमका गाविसका विषयमा सिमांकन खाका मिल्दोजुल्दो भएपनि नेपालगन्ज उपमहानगरपालिका आसपासका गाविसलाई मिलाउने विषयमा दलहरु बीच सहमती हुन नसकेको हो । बुधबारको बैठकमा सबै दलका प्रमुख तथा प्रतिनिधीले आ–आफ्ना खाका अनुसार धारणा राखेपनि कसरी ठोस निस्कर्ष निकाल्ने भन्नेमा लचिलो भएनन् । दलहरु लचिलो नभएपछि बैठकमा उपस्थित राज्य पुनःसंरचना आयोगका सदस्य पवित्रा सुब्बा श्रेष्ठले प्रस्तुत गरेका खाका माथि सबै दलले पुर्नविचार गर्नुपर्ने सुझाव दिईन् ।

बैठकमा काँग्रेस जिल्ला सचिव तप्त पौडेल, एमाले अध्यक्ष अशोक कोईराला, माओवादी केन्द्रका संयोजक आईपी खरेल, राप्रपा नेपालका अध्यक्ष ऋषिराज देवकोटा, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डेय, नयाँ शक्ति नेपालका हिक्मत बिक, नेकपा क्रान्तिकारी माओवादी(बैद्य)का सह–सेक्रेटरी उपेन्द्र शाही, संघिय समाजवादी फोरम नेपालका नेता बद्रुदुजा खाँ लगायतले आ–आफ्नो धारणा राखेका थिए । नयाँ शक्ति नेपालका युवा नेता बिकले स्थानीय तहको सिमांकनमा सबै दलहरु लचिलो हुनुको विकल्प नभएको बताए । ‘सबै दलले आफ्नो खाका प्रस्तुत गरेपनि सबै कुरालाई बिचार गर्दा आफ्नो अनुकुलको नहुन सक्छ, त्यसकारण सबैका सुझावलाई समेटेर मध्यमार्गी बाटो अपनाएर सिमांकनको विवाद टुंगो लगाउनुपर्ने मैले देखेको छु,’ उनले भने । बैठकबाट राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु एकपछि अर्काे गरी बाहिरिदै गएपछि बैठक कक्षका कुर्सी खाली भएका थिए ।

अन्तिममा समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी जीवलाल भुसालले बाँकेको गाउँपालिका र नगरपालिकाको सिमांकनको प्रस्तावित खाका तयार गरेका थिए । सोही खाका अनुसार अर्को बैठकमा छलफल चलाउने उनले बैठकमा बताए । अघिल्ला छलफलमा प्रस्तुत खाकालाई मिलाएर समितिले गाउँपालिका नम्वर–१ मा कटकुईया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरलाई समेटेको छ । गाउँपालिका नम्वर–२ मा फत्तेपुर, विनौंना, बैजापुर, खासकुश्मा, कचनापुर, महादेवपुरी, यस्तै ३ नम्वरमा कोहलपुर नगरपालिका, सम्शेरगन्ज वा गनापुर, ४ नम्वरमा चिसापानी, नौबस्ता, बनकटवा, टिटिहिरिया र रनियापुर, यसैगरी ५ नम्वरमा सोनपुर, उढरापुर, सितापुर, राधापुर, बागेश्वरी र खजुराखुर्द तथा ६ नम्वरमा नेपालगन्ज उपमहानगरपालिका, बेलभार, साईगाउँ, गनापुर, बेलहरी, कम्दी, हिरमिनिया, बेतहनी र बनकट्टी गाविसलाई समेटिएको छ । आयोगले बनाएको मापदण्ड अनुसार बाँकेमा स्थानीय तहको अधिकतम संख्या ६ बनाउनुपर्ने देखिएको छ । गाउँपालिका बनाउन न्यूनतम जनसंख्या ५० हजार, नगरपालिकाको ७५ हजार, उपमहानगरपालिकाको १ लाख ५० र महानगरपालिकाको ३ लाख हुनुपर्नेछ ।

Womui
Womui