तीजलाई भड्किलो हुन नदिन सुझाव

58

नेपालगन्ज, भदौं १४–
महिलाले धुमधामका साथ मनाउने गरेको हरितालिका(तीज)का विषयमा सकारात्मक सन्देश प्रवाह गरेर तीजलाई भड्किलो हुन नदिन सञ्चार माध्यमले कलम चलाउनुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । क्रियाशिल पत्रकार महिला बाँकेले भड्किलो तीज किन ? भन्ने विषयमा मंगलबार नेपालगन्जमा आयोजना गरेको सण्डे क्लब कार्यक्रममा बोल्ने अधिकांश वक्ताले धार्मिक पर्वको रुपमा मनाउने गरिएको हरितालिका तीजलाई भड्किलो भनेर यसको गरिमालाई धुमिल्याउने काम भई रहेको हुँदा तीजको महत्व र गरिमा राख्न सञ्चारकर्मीले सकारात्मक समाचार सम्पे्रशन गरेर सहयोग गर्नुपर्ने बताए ।

Sunday Club

कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष रुद्र सुवेदीले पछिल्लो चरणमा तीजलाई मनाउने तरिका अलि फरक भएपनि समय सापेक्ष परिवर्तनलाई अंगाल्नुपर्ने तर भड्किलो रुपमा नभई रिती रिवाजलाई जर्गेना गर्ने गरि तीज पर्व मनाउनु पर्नेमा जोडदिए । भड्किलो तीजका विषयमा मुख्य वक्ताका रुपमा रहनु भएका अग्रज पत्रकार एवम् प्राध्यापक मुना श्रेष्ठले हरितालिका तीजलाई महिला स्वतन्त्रताको अर्को रुपमा लिने गरिएपनि स्वतन्त्रताको नाममा भड्किलो पहिरन र खानपानले महिलाहरुको क्षमता माथी प्रश्न चिन्ह उब्जिएको हुँदा खानपान भन्दा पनि आफ्ना अधिकार र समाजमा व्याप्त कुरितीका विरुद्ध एक भएर पर्वलाई मनाउनुपर्ने बताए । त्यसैगरी क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अछरी पोख्रेलले तीजले महिलाहरुलाई क्रियाशिल हुन र एकजुट हुनमा मद्दत पुगेको हुँदा यसका नकारात्मक पाटोलाई पन्छाउँदै सकारात्मक पाटोलाई अंगाल्नु पर्ने बताईन् ।

कार्यक्रमका क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष उमा थापाले हरितालिका तीजलाई भड्किलो हुन नदिन सामाजिक रुपमा एक अर्काको देखासिखीको पछि लाग्न नहुने, वर्षभरीको समाजमा देखिएको राम्रा–नराम्रा कामको समिक्षा सहित तीज भित्रको कुरितीलाई पन्छाउने परम्पराको थालनी गर्नुपर्ने सुझाव दिईन् । छलफलमा पत्रकारहरु मधु पौडेल, निशु जोशी, अमृता केसी, अर्जुन ओली, विजय मल्ल, रञ्जिता ढकाल, करुणा शाह, करिस्मा योगी, लक्ष्मी बिसीलगायतले तिज पर्वलाई धार्मिक पर्वको रुपमा अगांल्नु पर्नेमा फेसन–शो को रुपमा लिइएको हुँदा यसलाई परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए ।

Womui
Womui