कांग्रेसले आज सबै मन्त्री पठाउने तयारी

53

काठमाडौं, भदौं ८–
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारका साथै पार्टीमा समेत सम्मानजनक सहभागिता गराउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । जिल्ला सभापतिहरुको सम्मानमा महामन्त्री शशांक कोइरालाले मंगलबार आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रमका क्रममा भएको भेटमा पौडेलले आफ्नो पक्षको सम्मानजनक सहभागिता खोजेका हुन् । कांग्रेस समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बनेको एक महिना बित्न लाग्दा सरकारमा सहभागितासहित अन्य विषयमा पार्टीभित्र छलफल नभएको भन्दै पौडेलले असन्तुष्टि जनाएका थिए ।

शशांक निवासमा दुई नेताबीच भएको छुट्टै भेटमा सभापति देउवाले सरकारमा सहभागी गराउने तीन नेताको नाम पौडेलसँग मागेका थिए । तर, पौडेलले त्यसप्रति असन्तुष्टि जनाउँदै कम्तीमा पाँच जना आफ्नो पक्षले पाउनुपर्ने दाबी गरेको स्रोतको दाबी छ । ‘सुरुमा तीन भने पनि उहाँ (सभापति) चार जनासम्म दिन तयार देखिनुभएको छ,’ पौडेलनिकट स्रोतले भन्यो, ‘निकट पदाधिकारी र पूर्वपदाधिकारीले पाँच जना नै चाहिने अडान दोर्होयाएको छ ।’ पौडेलले आफ्नो पक्षलाई सम्मानजनक रुपमा सहभागिता नगराए आफ्नो ढंगले अघि बढ्न सभापति देउवालाई भनेका छन् । सहमतिबाटै आफू अघि बढ्ने पक्षमा रहेको जनाउँदै देउवाले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पौडेलको निवासमा नै पठाउने आश्वासन दिएका थिए । त्यसपछि भएको निकट पदाधिकारी र पूर्वपदाधिकारी छलफलले निधिसँग भन्दा सभापति देउवासँगै सरकारसहित सबै विषयमा छलफल गर्ने निष्कर्ष निकालको थियो । तर, साँझ निधिले नेता पौडेललाई निवासमै गएर भेटेलगत्तै उनले निकट नेताहरुको बैठक बुधबार बिहानका लागि बोलाएका हुन् ।

भेला निवास नजिकै वनस्थलीस्थित एक सहकारी कार्यालयमा डाकिएको छ । सभापति देउवा आफूनिकट नेतासहित पौडेल पक्षका तीन नेतालाई सहभागी गराएर आज (बुधबार) नै थप नेतालाई सरकारमा पठाउने तयारीमा छन् । सभापति देउवाले स्वास्थ्य उपचारका लागि शुक्रबार विदेश निस्कने तयारी गरेकाले पनि कांग्रेसले सरकारमा सहभागी गराउने थप नेताको नाम पठाउन ढिलो नगर्ने भएको हो । देउवा अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केशवकुमार बुढाथोकी, नवीन्द्रराज जोशी र दीपक गिरीलाई सरकारमा पठाउने तयारीमा छन् । परराष्ट्र मन्त्रालय पाए नेता शेखर कोइराला पनि सरकारमा सहभागी हुनेछन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट गगनकुमार थापा र भीमसेनदास प्रधानमध्ये एक जना सहभागी हुनेछन् ।

यादव, जोशी र गिरी पौडेलनिकट हुन् भने शेखरले आफू कोटाबाट मन्त्री नहुने जनाउँदै आएका छन् । ‘बुधबार नै शपथ गराउने तयारी भइरहेको छ,’ निकट स्रोतले भन्यो, ‘पौडेलजी (रामचन्द्र पौडेल) पक्षले नाम परिर्वतन गर्ने कुरा भए साँझसम्म प्रधानमन्त्रीलाई सूची बुझाउने अहिलेसम्मको तयारी छ ।’ उपप्रधानमन्त्रीसहित १३ मन्त्रालय भाग पाएको कांग्रेसमा मन्त्री बन्न भीष्मराज आङ्दम्बे, शंकर भण्डारी, अम्बिका बस्नेत, मीन विक, रामकृष्ण यादव, किरण यादव, आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसी, जीवन परियार, तारामान गुरुङ, दिर्घराज भाट, अब्दुल रज्जाक, रामहरि खतिवडासहितका नेता सक्रिय छन् । भाट, गुरुङसहितका नेता राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी हुन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । दाहालले प्रधानमन्त्रीको शपथ लिएकै दिन कांग्रेसबाट निधि र रमेश लेखक सरकारमा सहभागी भइसकेका छन् । नेपाल विद्यार्थी संघको महाधिवेशनलाई देखाउँदै कांग्रेसले सरकारमा सहभागी हुने थप नेताको सूची प्रधानमन्त्रीलाई दिन ढिला गरेको हो । आजको नागरिकमा खबर छ ।

Womui
Womui