विज्ञप्ती प्रकरण : महिला उद्यमीको आपत्ती

67

नेपालगन्ज, भदौं ८–
महिला उद्यमीहरुका नाम राखेर समावेशी साझा समुहले नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो समुहलाई समर्थन रहेको व्यहोरा सहितको विज्ञप्ती निकालेको भन्दै आपत्ती जनाइएको छ । कपिल अधिकारी नेतृत्वको समावेशी साझा समुहका तर्फबाट सोमबार महिला उद्यमी सहित १४ जनाको नाममा संयुक्त विज्ञप्ती प्रकाशित गरिएको थियो । महिला उद्यमी संघ बाँकेका अध्यक्ष अञ्जु गुरुङ, निर्वतमान अध्यक्ष कमला टण्डन, महिला उद्यमी महासंघका केन्द्रिय सदस्य सरस्वती शर्मा लगायतले कुनैपनि प्यानलको पक्षमा आफुहरु खुलेर नलागेको अवस्थामा अचानक विज्ञप्तीमा नाम जोडिएर आएकोमा आश्चर्यता प्रकट गरेका हुन् ।

संघका अध्यक्ष गुरुङ र निवर्तमान अध्यक्ष टण्डन नेपालगन्ज बाहिर छन् भने महासंघका केन्द्रिय सदस्य शर्मा नेपालगन्जमा छिन् । समावेशी साझा समुहमा आवद्ध एक अग्रज व्यवसायीले आफुलाई फोन गरेर महिला उम्मेदवारलाई समर्थन गर्न आग्रह सहित विज्ञप्तीमा सहभागिता जनाइदिन भनेपछि आफुले इन्कार गरेको र मंगलबार बिहान पत्रपत्रिकामा आफु लगायत असंलग्न महिला उद्यमीहरुको नाम प्रकाशित भएको देख्दा आश्चर्यमा परेको शर्माले बताईन् । ‘एक जना दाईले महिला उद्यमी उम्मेदवारलाई समर्थन गरिदिनुप¥यो, त्यसका लागि हामी विज्ञप्तीमा नाम लेख्दैछौं भनेर फोन गर्नु भएको थियो, मैले उहाँलाई त्यसरी विज्ञप्तीमा नाम नराख्न अनुरोध गरेको थिए, तर हाम्रो नाम पनि जोडिएछ,’ उनले भनिन् ।

नेपालगन्ज बाहिर रहेका अध्यक्ष गुरुङ र टण्डनले पनि विज्ञप्तीबाजी बारे मंगलबार बिहान मात्र खबर पाएर आफुसँग आश्चर्यता प्रकट गरेको शर्माको भनाई छ । महिला उद्यमी संघ बाँकेले अहिले सम्म कुनैपनि प्यानललाई समर्थन नगरेको अध्यक्ष गुरुङले बताएकी थिईन् । तर निर्वाचनमा उम्मेदवार बनेका महिला उद्यमीलाई आफुहरुको सहानुभुति रहने उनको भनाई छ । महिला उद्यमी संघ बाँकेमा ४२ जना महिलाहरु आवद्ध रहेको बताइएको छ ।

Womui
Womui