‘उद्योग वाणिज्य संघ प्रतिको वितृष्णालाई निर्मूल गर्छौं’

137

पश्चिम नेपालको औद्योगिक नगरीका रुपमा परिचित नेपालगन्जमा यतिबेला चुनावी रौनकता छाएको छ । यही भदौ ११ गते हुन लागेको निर्वाचनमा वाणिज्य संघमा नेतृत्व गर्नका निम्ति तीनवटा प्यानल दलगत रुपमा खडा भएका छन् । विगत लामो समयदेखि देशमा स्थानीय निर्वाचन हुन नसकेकोले पनि होला उक्त निर्वाचनप्रति उद्योगी व्यवसायी, राजनीतिकर्मीलगायत सम्पूर्ण नेपालगन्जबासीको ध्यान खिँचिएको छ । एकातर्फ उद्योग व्यवसायमा राजनीतिकरण हुनु हुँदैन भन्ने तर्क गर्ने व्यवसायी, आम जनता छन् भने अर्कोतफ नेपाली कांग्रेसले मधेसी मोर्चालाई साथमा लिएर प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह बनाएको छ । यस्तै नेकपा एमालेले समावेशी साझा समूह र नेकपा (माओवादी)को समर्थनमा समावेशी समूह चुनावी मैदानमा रहेको छ । उद्योग वाणिज्य संघमा राजनीतिक हाबी भएकै हो त ? भन्ने खुल्दुली बोकेका व्यवसायी, आम जनताको अभिलाषा मेट्न छिनछिन खबरले तीनवटै प्यानलका अध्यक्षको भाव बुझ्ने प्रयत्न गरेको छ । निर्वाचनको सन्दर्भमा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गोपालप्रसाद अधिकारीसँग छिनछिन खबरका लागि रमण ओलीले गरेको कुराकानी ।

नेपालगन्जको उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनुको कारण ?

मेरो उम्मेदवारी समग्रमा यस क्षेत्रको आर्थिक समुन्नति, उद्योग व्यवसायमा परेका विविध खालका समस्यालाई समाधान गर्दै व्यवसायी मैत्री वातावरण तयार गरी व्यवसायीको हकहितमा काम गर्नका लागि हो ।

cote1

gopal2

तपाईको प्यानल बारे भन्नुपर्दा ?

हामीले प्रजातान्त्रिक विचारधारा राख्ने सम्पूर्ण उद्योगी व्यवसायीलाई समेट्दै प्यानल बनाएका छौं । प्यानलमा सबै वर्गका युवा उद्यमी, व्यवसायीको संलग्नता छ । काम गर्न सक्ने जुझारु र ऊर्जाशील व्यक्तिहरु हुनुहुन्छ ।

यस क्षेत्रको उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित समस्यालाई कसरी पहिचान गर्नु भएको छ ?

सबभन्दा ठूलो समस्या भनेको १ नम्बरमा व्यसायिक सुरक्षा नहुनु नै हो । खुला सिमानाका कारण यहाँको स्थानीय बजार दिन प्रतिदिन सुक्दै छ भने सीमापारि फस्टाउँदै गएको छ । त्यस्तै राजस्व कार्यालय, प्रहरी प्रशासनका साथसाथै वाणिज्य कार्यालयको मनोमानी ढंगले गरिएको पुँजी वृद्धिका समस्या, व्यवस्थित करिडोर नहुनु, विद्युतीय संकटका कारण उद्योग बन्द हुनु, यहाँ उत्पादित हस्तकला र घरेलु सामान निर्यातमा समस्या, जडीबुटी निर्यात गर्दा लाग्ने दोहोरो कर प्रणालीले जडीबुटी निकासीमा समस्या र उद्योग व्यवसायमा काम गर्ने श्रमिक नपाउनु नै यहाँको प्रमुख समस्या हुन् । त्यस्तै उद्योग मैत्री सरकारी नीति नहुनु र औद्योगिक मैत्री ऐन नहुँदा नयाँ उद्योग खुल्न सकेका छैनन् ।

gopal3

cote4

व्यापारीक हकहितका लागि हुने निर्वाचनमा दलगत राजनीति हाबी भयो भन्ने गाइँगुइँ चलिरहेकोे छ नि ?

राजनीति नै सम्पूर्ण नीतिको मूल रुप हो । यति मात्र फरक हो कि यसलाई कसरी प्रयोग गर्ने । उद्योग वाणिज्य संघ एउटा विशुद्ध व्यवसायिक हकहितको वकालत गर्ने संस्था भएकोले यसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन भन्ने हाम्रो टिमको मान्यता छ ।

व्यापारीले तपाईंलाई नै किन मत हाल्ने?

सम्पूर्ण उद्योगी व्यवसायीको हकहित संरक्षण गर्नेतर्फ म विभिन्न संघसंस्थामा क्रियाशील भई दिन रात लागिरहेको छु । मैले बताएको समस्या र समाधानबारे सम्बोधनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघको संस्थागत विकास र एकतालाई कायम गर्दै विविध समस्यालाई समाधान गर्न उद्योगी व्यवसायीको संस्थागत सर्वोच्चता, व्यवसायिक एकता र सामाजिक सद्भाव कायम गरी सम्पूर्ण उद्योगी व्यवसायीको हितमा नै कदम चाल्नका निम्ति मेरो उम्मेदवारी हो । साथै सम्पूर्ण व्यवसायीले शीर उच्च गरी व्यवसाय गर्न सक्ने वातावरण तयार गर्न र उद्योगी, व्यवसायीको उद्योग वाणिज्य संघप्रतिको वितृष्णालाई निर्मूल गरी आकर्षित गराउने तर्फ म लाग्ने छु ।

विगतमा व्यवसायीको हकहितका केही कदम चाल्नु भएको छ ?

विगतमा म एक कार्यकाल उद्योग वणिज्य संघको कार्यसमितिको सदस्य रहेर काम गरिसकेको हुँदा त्यसबेला विद्युतीय संकट पर्दा उद्योगमा विद्युत सहज आपुर्ति हुनु पर्छ भनेर पहल गरेको थिएँ । ै सीमा बजार व्यवस्थापन समितिको संयोजक रहँदा सीमा पारिबाट हुने जनचेतनामूलक कार्यक्रम गरेको अनुभव पनि छ भने भन्सार कार्यालय, प्रहरी प्रशासन र राजस्व कार्यालयबाट बेलाबखत हुने गरेको ज्यादति विरुद्ध व्यवसायीको पक्षमा पहल कदमी गरेको थिएँ ।

Gopal4

cote3j

मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएकोछ ?

जहाँजहाँ गएरको छु उत्साहित रूपमा स्वागत गरिरहेका छन् । काम गर्न सक्ने वातावरण बनाउनुनै आजको आवश्यकता हो र तपाईंको टिमले नै त्यो वातावरण बनाउन सक्छ भन्ने प्रतिक्रिया पाइरहेको छु ।

निर्वाचन मतपरिणामपछिको सफलतापश्चात् सबै व्यवसायीलाई कसरी समेट्ने योजना छ ?

सबै भन्दा पहिले सम्पूर्ण उद्योगी, व्यवसायीलाई उद्योग वणिज्य संघमा आउने वातावरण बनाउने छु । कुनै पनि व्यवसायीलाई समस्या उत्पन्न आयो भने तुरुन्त स्वयम् त्यहाँ पुगी समस्या समाधानका लागि पहल गर्ने छु ।

अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?

आरणीय मतदातालाई म के भन्न चाहान्छु भने आफ्नो मताधिकार प्रयोग गर्दा वाणिज्य संघको मर्यादालाई उच्च पार्दै व्यवसायिक सुरक्षा, समाजिक सद्भाव कायम गराउन सक्ने उर्जाशील व्यक्तिहरुको समूहलाई मतदान गरेर उद्योग वाणिज्य संघको घट्र्दै गएको साखलाई उच्च पार्न सहयोग गर्नु होस् । त्यसका लागि प्रजातान्त्रिक समूहका सम्पूर्ण उम्मेदवारलाई विजयी गराइ आफ्नो हकअधिकार सुरक्षित गर्न विनम्रतापूर्वक अनुरोध गर्दछु ।

Womui
Womui