नेवि संघको गणना केहीबेरमा सुरु हुने

80

काठमाडौं, भदौ २–
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । बुधबार १२ बजेदेखि सुरु भएको मतदान आज बिहान सकिएको हो। निर्वाचन मन्डलका अनुसार तीन हजार २ सय ६० मत खसेको छ । अबको केही बेरमै मतगणना पनि सुरु हुने नेताहरुले बताएका छन् । ११ औं महाधिवेशन उद्घाटन भएको दस दिनपछि बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पूर्व्निर्धा्रित समयभन्दा झन्डै पाँच घन्टा ढिला सुरु भएको थियो । प्रतिनिधि विवाद सुल्झिएपछि नीतिगत र आन्तरिक छलफलबिनै नयाँ नेतृत्वका लागि निर्वाचन गरिएको हो ।

NC-Student-Election

अध्यक्षसहित १ सय २९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा झन्डै सात सय जना प्रतिस्पर्धामा छन् । अध्यक्षका लागि सात जना मैदानमा खडा भए पनि सभापति शेरबहादुर देउवा र नेता कृष्णपसाद सिटौलाको संयुक्त प्यानल तथा रामचन्द्र पौडेलनिकट समूहबीच प्रतिस्पर्धा छ । सभापति देउवा र सिटौलाको संयुक्त प्यानलको नेतृत्व नैनसिंह महरले गरेका छन् भने पौडेल पक्षको नेतृत्व मनोजमणि आचार्यले गरेका छन् । आफूले नै जित्ने दाबी गर्दै आएका महर र आचार्यले पदाधिकारीसहित सदस्यसम्म प्यानलै बनाएर उम्मेदवारी दिएका छन् । विवाद समाधान गर्ने नाममा पूर्व्निर्धा्रित सिलिङ बढाउँदै लैजाँदा ३ हजार ८ सय बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाइए पनि बुधबार साँझसम्म ३ हजार ४ सय ६८ जनाले मात्र परिचयपत्र बुझेका छन् । ‘नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि घर फर्केका प्रतिनिधि पनि रातारात आइरहेका छन,’ पार्टी कार्यालयका एक कर्मचारीले भने, ‘निर्वाचन जारी रहँदासम्म कोही आइपुगे प्रतिनिधि परिचयपत्र उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।’

विद्युतीय र मतपत्र गरी दुई विधिबाट मतदान गरिएको छ । २०६४ जेठपछि पहिलोपटक भएको संघको महाधिवेशनले प्रदेश, समावेसीसहित १३ उपाध्यक्ष, एक मनोनीतसहित तीन महामन्त्री, एक कोषाध्यक्ष, प्रदेशबाट सात, समावेशीतर्फ चार, कर्णालीसहित पिछडिएको नौ जिल्लाबाट एक, उपात्यकाबाट एकसहित १६ सहमहामन्त्रीको व्यवस्था छ । संशोधित विधानअनुसार संघको नयाँ कार्यसमितिका लागि निर्वाचन भए पनि महाधिवेशनबाट भने त्यसलाई पारित गरेको छैन ।

यसैबीच संघको नयाँ कार्यसमितिमा एक सहमहामन्त्रीसहित छ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा मधेसी कोटाबाट सहमहामन्त्रीमा परमेश्वर साह छन् । त्यस्तै, संघको विभिन्न क्षेत्रबाट पाँच केन्द्रीय सदस्य पनि निर्विरोध भएका हुन् । पिछडिएको क्षेत्रबाट सुमित्रा शाही, मुस्लिमबाट सीताराम वानु, अपांगबाट कल्पना खड्का, त्रिविबाट सीता गौतम, कृषि तथा वन विज्ञानबाट सरोज रेग्मी निर्विरोध भएका हुन् । अब निर्वाचनबाट १ सय २३ जनाको टुंगो लाग्ने छ भने अध्यक्षले एक महामन्त्रीसहित २२ जना मनोनीत गर्ने व्यवस्था छ ।

Womui
Womui