कांग्रेस-माओवादी सरकारको गृहकार्य गर्दै

46

काठमाडौं, साउन १३-

नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा पार्टीबाट सहभागिताको विषयमा आन्तरिक गृहकार्य सुरु गरेको छ। सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गरे पनि कांग्रेस र माओवादी बहुमतीय सरकारको गृहकार्यमा जुटेका हुन्। दुवै दल सरकार सञ्चालन कार्यविधि र मन्त्रालयको बाँडफाँट र मन्त्री चयनमा लागेका छन्।

संसद्ले साउन १७ बाट प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रक्रिया सुरु गर्ने भएपछि दुवै दल तीन/तीन सदस्यीय कार्यदल बनाएर सरकार सञ्चालन कार्यविधि बनाउन लागिपरेका हुन्। कांग्रेसबाट नेता विमलेन्द्र निधि र रमेश लेखकले आन्तरिक गृहकार्य गरिरहेका छन् भने सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल पक्षसँग पनि कार्यदल सदस्यको नाम मागेका छन्। पौडेल पक्षले नेता रामशरण महतलाई कार्यदल सदस्यमा पठाउने तयारी गरेको छ।

त्यस्तै, माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुनले आन्तरिक गृहकार्य गरिरहेका छन्। दुवै पक्षका कार्यदल सदस्यको बैठकले सरकार सञ्चालन कार्यविधिका साथै मन्त्रालयको भागबन्डा गर्नेछन्। मन्त्रालयलाई चार वर्गमा विभाजन गरेर बाँडफाँट गर्ने समझदारी गरेका दुई दलले कांग्रेसले गृहसहित १२ र माओवादीलाई सरकारको नेतृत्वसहित ८ मन्त्रालय लिने यसअघि नै समझदारी बनेको स्रोतको दाबी छ। मधेसी जनअधिकार फोरम र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साविकै मन्त्रालय दिन दुई दल सहमत भएको स्रोतको दाबी छ।

Womui
Womui