राप्तीको बाढीमा फसेका ८ सय ९८ जनाको उद्धार– (फोटो फिचर)

171

नेपालगन्ज, साउन १२–
राप्तीको बाढी फसेका होलिया, बेतहनी, कचनापुर र गंगापुरका कुल ८ सय ९८ जनाको उद्धार गरिएको छ । मंगलबार र बुधबार गरी नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले उद्धार गरेका हुन् । बुधबार मात्रै थप २ सय २५ जनाको बुधबार उद्धार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिएका छन् । होलिया–३ र ४ चौफेरी गाउँका १ सय ४ जनालाई बुधबार हेलिकप्टरबाट र गंगापुर–१ कुडवा गाउँका १ सय २१ जनालाई डुंगाको सहायताले उद्धार गरिएको उनले बताए ।

 Rapti Flood-Udwar 2

चौफेरी गाउँका बाढी पीडितलाई होलिया–७ पिप्रहवा गाउँमा छाडिएको छ, भने गंगापुरका पीडितलाई सोही गाविसको वडा नम्वर ९ स्थित रेडक्रसको अस्थायी आवासमा राखिएको छ । यसअघि मंगलबार पनि होलिया, बेतहनी र कचनापुरका ६ सय ७३ जनाको हेलिकप्टर, डुंगा लगायत साधनबाट उद्धार गरिएको थियो । प्रजिअ पन्थका अनुसार पहलमा ४ सय ९८ जनाको हेलिकप्टर मार्फत र १ सय ७५ जनालाई डुंगा र पौडी खेलेर सुरक्षाकर्मीले उद्धार गरेका थिए । उद्धारमा रेडक्रसका स्वयंसेवकले पनि सुरक्षाकर्मीलाई सघाएका छन् । प्रजिअ पन्थले उद्धार कार्यमा हेलिकप्टर र डुंगा प्रयोग गरिएको जानकारी दिदै भने, ‘नदीमा पानीको सतह बढेको पुर्व जानकारी पाउनु र नेपाली सेनाले यसपटक सुर्खेतमा हेलिकप्टर स्ट्यान्डबाई हुनुले उद्धार कार्य गर्न सहज भयो ।’

Rapti Flood-Udwar 1

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका गौरीलाल बुढाथोकीले सुरक्षित स्थानमा राखिएका व्यक्तिलाई प्रति घर तीन दिनका लागि तयारी खाना प्रति व्यक्ति (चिउरा ६ सय ग्राम, चिनी ७५ ग्राम, चाउचाउ ३ वटा र बिस्कुट ३ वटा) वितरण गरिएको जानकारी दिएका छन् । राप्तीमा पानीको सतह अचानक बढेपछि राप्ती आसपासका होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, बेतहनी, खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना लगायत गाविसका विभिन्न वडा तथा गाउँहरु डुबानमा परेका थिए । कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार राती साढे ११ बजे सम्म नदीमा पानीको सतह बढेर ८ मिटर १५ सेन्टिमिटर सम्म पुगेको थियो । कुसुममा मंगलबार रातीबाट पानीको सतह घटेपनि प्रभावित क्षेत्रमा भने बुधबार दिउँसो मात्र बाढी घटेको स्थानीय बासिन्दाले बताएका छन् ।

होलिया–३ र ४ चौफेरीका स्थानीय बासिन्दालाई बुधबार हेलिकप्टरबाट उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिरहरु : खगेन्द्र दाहाल

Womui
Womui