डुबानले नेपालगन्जलाई सास्ती

113

नेपालगन्ज, साउन ७-
अविरल वर्षाले शुक्रबारपनि नेपालगन्जका दर्जनौं घर डुबानमा परेका छन् । उपमहानगरको घरबारीटोल, गणेशपुर, बसपार्क, कारकाँदो, बेलासपुर, भृकुटीनगर, सल्यानीबाग, आदर्शनगर, भृकुटीनगर, कोरियनपुर, बाँके गाउँ लगायत क्षेत्र डुबानमा परेका हुन् । उपमहानगर क्षेत्रमा निर्मित ढल र नाला प्रभावकारी नहुँदा डुबान हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । ‘नगरमा ढल र नाला निर्माण त भए, तर व्यवस्थित भएनन,’ व्यापारी सुरज बैश्यले भने । नेपालगन्ज उपमहानगर क्षेत्रमा एकिकृत शहरी विकास आयोजनाले ढल तथा नाला निर्माणको काम गरिरहेको छ ।

Gharbari Tool

यस्तै नेपालगन्ज–कोहलपुर सडक आयोजनाले पनि सडक चौडा र नाला निर्माणको काम गरेको छ । यि नालाहरु जमिनको सतह भन्दा माथि निर्माण गरिएका छन् । यसले गर्दा डुबान समस्या निम्तिने गरेको सम्वद्धहरु बताउँछन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले डुबान समस्याबाट मुक्ति पाउन नसकेको बताए । ‘वर्षायामभरी डुबान समस्या समाधानको निकास नखोजे यसबाट झनै बढी क्षति हुने निश्चित छ,’ श्रेष्ष्ठले भने । नाला निर्माणमा भएको कमजोरीले गर्दा सबैभन्दा बढी डुबान घरबारीटोल क्षेत्र हुने गरेको उनले बताए । ‘नयाँ बनेका नाला गतिलो भएनन, पुराना नाला सफा नगरेको पनि धेरै समय भइसक्यो, यसको असर अहिले डुबान समस्या निम्तिरहेको छ,’ उनले अगाडी भने ।

Womui
Womui