कमैया मुक्तीको १६ वर्ष पुरा

37

काठमाडौं, साउन २–
मालिकको घरमा दासतापुर्ण जीवन बिताइरहेका पश्चिम नेपालका कमैया मुक्त भएको १६ वर्ष पुरा भएको छ । २०५७ साल साउन २ गतेका दिन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कमैयालाई मुक्त गरी पुर्नस्थापना अभियान अगाडी बढाएको थियो । मध्य तथा सुदूरपश्चिमका बाँके, दाङ, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा रहेका कमैयालाई मुक्त घोषणा गरिएको हो । अझैपनि मुक्त कमैयालाई दीर्घकालिन बसोबासकै चिन्ता रहेको देखिन्छ ।

सरकारले पुनःस्थापना गरेपनि त्यो दीर्घकालिन नभएको र जोखिम क्षेत्र भएको उनीहरुले गुनासो गरेका छन् । बाँकेका मुक्त कमैया नेता फत्तु थारुले सरकारले हचुँवाको भरमा मुक्त कमैयाको पुनःस्थापना गरेको बताए । सरकारले बाँकेलाई २०६५ सालमा मुक्त कमैया रहित जिल्ला घोषणा गरेको थियो । बाँकेमा २ हजार २ सय ४७ परिवार मुक्त कमैयालाई पुनःस्थापना गरिएको थियो । पुनःस्थापनाका क्रममा सरकारले १ देखि ५ कठ्ठा जमिन, घर निर्माणका लागि १० हजार र ३५ क्यूफिट काठ उपलब्ध गराउने प्रतिवद्धता गरेको थियो । अधिकांशले नगद अनुदान पाएपनि काठ पाउनेको सङ्ख्या १ सय २९ परिवार मात्र छन् । कमैया मुक्ती दिवसका अवसरमा बाँकेमा भने कुनैपनि औपचारिक कार्यक्रम आयोजना नगरिएको मुक्त कमैया अगुवा थारुको भनाई छ ।

Womui
Womui