प्राविधिक शिक्षा पढ्ने रहर

526

नेपालगन्ज, असार २५–
साक्षी सिजापतिले त्रिवी नर्सिङ क्याम्पसमा एक साताअघि प्रवेश परिक्षा दिईन् । एबीसी उच्च माध्यामिक बिद्यालय नेपालगन्जबाट ‘बी प्लस’ ग्रेट ल्याएर एसएलसी उर्तिण गरेकी उनले त्रिवी नर्सिङ क्याम्पस नेपालगन्जमा परिक्षा दिएकी हुन् । ‘सानै उमेरदेखि नर्सिङ विषय पढ्ने मेरो इच्छा हो, त्यही भएर यो विषय पढेकी हुँ,’ नेपालगन्ज–५ देवाफुलबारीकी साक्षीले भनिन् । विरामीको सेवा गर्न पाइने र पढिसकेपछि सजिलै जागिर पाइने भन्दै नर्सिङ शिक्षा रोजेको उनले बताईन् । नर्सिङ विषय पढ्न तयारी गर्ने उनी एक्ली होइनन् । साक्षीसँगै एसएलएसी उर्तिण गरेका थुप्रै साथीहरु प्राविधिक शिक्षा पढ्दैछन् । उनकी साथी अविलासा विष्ट पनि नर्सिङ पढ्ने तयारीमा छिन् । नर्सिङ पढेर जागिर गरिसकेका आफन्तलाई देखेर अविलासालाई पनि यो विषयले आर्कषण गरेको हो । ‘सरकारीमा नाम निकाल्ने सकभर कोसिस गर्छु, नत्र प्राइभेट कलेजमा भएपनि पढेर इच्छा पुरा गर्छु,’ उनले सुनाईन् ।

????????????????????????????????????
एसएलसी उर्तिण गरिसकेपछि धेरैजसो बिद्यार्थीको रोजाई पछिल्लो समयमा प्राविधिक शिक्षा हुने गरेको छ । अरु विषय भन्दा प्राविधिक विषय पढेपछि सजिलैसँग रोजगारी पाईने अपेक्षाले गर्दा प्राविधिक शिक्षाको माग बढेको सरोकारवाला बताउँछन् । प्राविधिक शिक्षामा बिद्यार्थीको आर्कषण बढेसँगै जिल्लामा सरकारी र प्राइभेट स्तरमा थुप्रै कलेज सञ्चालनमा आएका छन् । सिटिइभिटिइबाट अनुमती लिएर जिल्लामा सञ्चालित सरकारी र प्राइभेट कलेजले विभिन्न विषयको पढाई सञ्चालन गरिरहेका छन् । कुनैपनि कलेजले बिद्यार्थी अपुग भएको अनुभुती गरेका छैनन् । सरकारीस्तरबाट सञ्चालित सिटिइभिटिईको आंगिक भेरी प्राविधिक शिक्षालयमा डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरिङ, डिप्लोेमा इन मेकानिकल इन्जिनियरिङ तथा टि–एसएलसी लेभलमा १८ महिने मेकानिकल सव ओभरसियर, रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन सव ओभरसियर, अटोमोबाईल सव ओभरसियर, इलेक्ट्रीकल सव ओभरसियर, इलेक्ट्रोनिक्स सव ओभरसियर, सिभिल सव ओभरसियर र कम्प्युटर अप्लिकेशन एण्ड सेक्रेटरियल म्यानेजमेन्ट विषय पढाई हुने गरेको छ । जिल्लाको एक मात्र सामुदायिक बिद्यालय त्रिभुवन उच्च माबि कोहलपुरमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र टि–एसएलसी लेभलको १५ महिने जुनियर कम्प्युटर टेक्निसियन विषय पढाई भइरहेको छ ।

यस्तै प्राइभेट कलेजबाट नर्सिङ, एचए, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, ल्याब टेक्निययन, फार्मेसी, रेडियोग्राफी कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसैगरी टि–एसएलसी लेभल १५ महिने र १८ महिने कोर्समा सिएमए, एएनएम, अमिन, ल्याब असिस्टेन्ट, सिभिल सव ओभरसियर, प्लान्ट साइन्स जेटिए, पशु स्वास्थ्य, जुनियर कम्प्युटर टेक्निसियन सञ्चालनमा छ । सिटिईभिटिई पश्चिम क्षेत्रीय कार्यालय कोहलपुरका अनुसार प्राविधिक शिक्षा सञ्चालनका लागि अहिले सम्म अनुमती लिएका सरकारी र प्राइभेट प्राविधिक कलेजको संख्या बाँकेमा १५ पुगेको छ । प्राइभेट स्तरबाट नर्सिङ विषय पढाउने कलेज ४, एचए ३, डिप्लोमा इन सिभिल इन्जिनियरिङ ३, कम्प्युटर इन सिभिल इन्जिनियरिङ १, ल्याब टेक्निसियन ३, फार्मेसी १, रेडियोग्राफी २ वटा कलेजमा सञ्चालन छ । टि–एसएलसी लेभलको १५ महिने र १५ महिने सिएमए विषय पढाई हुने कलेज ३ वटा, एएनएम १, अमिन २, ल्याब असिस्टेन्ट ४, सिभिल सव ओभरसियर ३, प्लान्ट साइन्स जेटिए १, पशु स्वास्थ्य २ र जुनियर कम्प्युटर टेक्निसियन १ रहेको छ ।

प्राविधिक शिक्षामा बिद्यार्थीको आर्कषण कति धेरै छ भन्ने पुष्टी यहाँका कलेजमा भर्ना हुने बिद्यार्थी संख्याबाट हुन्छ । यसक्षेत्रको एक मात्र सरकारी कलेज भेरी प्राविधिक शिक्षालयमा पढ्न बिद्यार्थीको तछाड–मछाड नै हुन्छ । मध्यपश्चिम सहित मुलुकका विभिन्न जिल्लाबाट आउने बिद्यार्थीको चापले गर्दा शिक्षालयलाई सिटिइभिटिइले तोकेको कोटा पु¥याउन समस्या हुदैन । शिक्षालयका उप–प्रमुख पारश खड्काले प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राखेको र रोजगारी पाउन सहज भएकाले बिद्यार्थीको आर्कषण बढेको बताए । उनका अनुसार सिटिइभिटिईले शिक्षालयमा सञ्चालित डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरिङका लागि हरेक वर्ष ४८ वटा कोटा निर्धारण गर्छ । उक्त कोटाका दोब्बर, तेब्बर बढी बिद्यार्थीले प्रतिस्पर्धा गर्छन् । यस्तै डिप्लोेमा इन मेकानिकल इन्जिनियरिङमा २४ तथा टि–एसएलसी लेभलमा १८ महिने मेकानिकल सव ओभरसियरमा २४, रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन सव ओभरसियर २०, अटोमोबाईल सव ओभरसियर २६, इलेक्ट्रीकल सव ओभरसियर ३०, इलेक्ट्रोनिक्स सव ओभरसियर र सिभिल सव ओभरसियरमा २६÷२६ तथा कम्प्युटर अप्लिकेशन एण्ड सेक्रेटरियल म्यानेजमेन्टमा ३० जनाको हरेक वर्ष कोटा तोकिन्छ ।

शिक्षालयका उप–प्रमुख खड्काले प्राविधिक शिक्षाको बढ्दो मागलाई व्यवस्थापन गर्न कठिन भइरहेको बताए । ‘प्राविधिक शिक्षा पढ्न चाहने बिद्यार्थी धेरै हुन्छन, तर सिटिईभिटिईले निश्चित कोटा तोकेको हुन्छ, त्यो भन्दा बढी भर्ना गर्न मिल्दैन,’ उनले भने । शिक्षालयबाट सञ्चालित कार्यक्रममा महिला, मुस्लिम महिला, दलित, दुर्गम क्षेत्रका लागि विशेष आरक्षणको व्यवस्था गरिएको खड्काले जानकारी दिए । सरकारी कलेजको जस्तै जिल्लाका प्राइभेट कलेजको अवस्थापनि उस्तै छ । प्राइभेट कलेजले पनि सिटिइभिटिइले तोकेको कोटा हरेक वर्ष पुरा गर्छन् । नेपालगन्ज टेक्निकल कलेजले हरेक वर्ष स्वास्थ्य र इन्जिनियरिङ विषयमा सिटिइभिटिइले तोकेको कोटा अनुसारको बिद्यार्थी भर्ना गर्छ । डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयका लागि सिटिइभिटिइले तोकेको ४८÷४८ तथा एचए कार्यक्रममा ४० जना बिद्यार्थी भर्ना गरेर पढाई सञ्चालन गर्दै आएको कलेजले आगामी नयाँ शैक्षिक शत्रबाट ल्याब टेक्निसियनको पढाई समेत सञ्चालन गर्ने तयारीमा छ ।

ल्याब टेक्निसियनका लागि उक्त कलेजले ३० जनाको कोटा पाएको छ । कलेजका प्रवन्ध निर्देशक किशोर कुमार पाण्डेयले कलेजमा बिद्यार्थीको चाप धेरै भएको बताए । ‘प्रवेश परिक्षामा धेरै बिद्यार्थी सहभागि हुन्छन, तर निश्चित कोटा हुने भएकाले सबै बिद्यार्थी भर्ना हुन पाउँदैनन,’ उनले भने । प्राविधिक शिक्षामा रोजगार र स्वरोजगार दुबै भएकाले बिद्यार्थीको रोजाई हुने गरेको पाण्डेय बताउँछन् । स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी विषय सञ्चालन गर्दै आएको मध्यपश्चिम प्राविधिक शिक्षालय नेपालगन्जले पनि हरेक वर्ष सिटिइभिटिईबाट ४०÷४० जनाको कोटामा बिद्यार्थी भर्ना गर्छ । कोटा अनुसार बिद्यार्थी भर्ना सहज रुपले हुने शिक्षालयले जनाएको छ । उक्त शिक्षालयले पनि नयाँ शैक्षिक शत्रका लागि प्रवेश फाराम वितरण सुरु गरिसकेको छ । ‘अहिले दुबै कार्यक्रमका लागि प्रवेश फारम वितरण गरिरहेका छौं, साउन ८ गते प्रवेश परिक्षाको नतिजा आइसकेपछि भर्ना सुरु गरिन्छ,’ शिक्षालयका रिजवान अन्सारीले भने ।

सिटिइभिटिई पश्चिम क्षेत्रीय कार्यालयका उप–निर्देशक अमर घर्ती नेपालगन्ज क्षेत्र प्राविधिक शिक्षालयको ‘हव’ नै भएको बताउँछन् । मध्यपश्चिमा सबैभन्दा बढी बाँकेमा प्राविधिक कलेज सञ्चालनमा रहेको उनले जानकारी दिए । ‘सरकारले प्राविधिक शिक्षाको विकासमा जोड दिइरहेको छ, रोजगारी सजिलैसँग पाइने भएकाले प्राविधिक शिक्षा पढ्न बिद्यार्थीहरु बढी आर्कषित हुन्छन,’ घर्तिले भने ।

Womui
Womui