खस्कियो नेपालगन्जको शान्ति सुरक्षा

42

नेपालगन्ज, असार ७–
मध्य तथा सुदुरपश्चिमको केन्द्र विन्दु नेपालगन्ज उपमहानगर क्षेत्रको शान्ति सुरक्षा अवस्था खस्किएको छ । दिनहुँ चोरी र लुटपाटका घटना भइरहेका बेला उपमहानगरको वडा नम्वर १३ आर्दशनगरमा एक युवकको हत्या भएको छ । जयसपुर घर भएका १८ बर्षिय राजबाबु पठान खाँको हत्या भएको अवस्थामा सोमबार बिहान शव फेला परेको हो । उनको आइतबार राती करिव १२ बजेतिर हत्या भएको प्रहरीको अनुमान छ ।

हत्या गरिएका जयसपुर निवासी १८ बर्षिय राजबाबु पठान खाँ ।
हत्या गरिएका जयसपुर निवासी १८ बर्षिय राजबाबु पठान खाँ ।

एकाबिहानै युवकको शव देख्ने वित्तिकै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक(एसपी) टेकप्रसाद राई, प्रहरी नायव उपरिक्षक(डिएसपी) भिमकिरण बोगटी सहित प्रहरीको अपराध अनुसन्धान टोली पुगेर घटनास्थलको मुचुल्का उठाएको थियो । डिएसपी बोगटीले मृतकको शरिरका विभिन्न भागमा चिर्पट र धारिलो हतियार प्रहार गरेको जस्तो चोट देखिएकाले हत्या नै भएको जिकिर गरे । उनले भने, ‘लासको प्रकृती हेर्दा हत्या नै भएको देखिन्छ, आपसी विवाद भएर नै हत्या भएका हुनुपर्छ ।’ घटनाको विषयमा अनुसन्धान सुरु गरिरहेको डिएसपी बोगटीले बताए । मृतक व्यक्तिको साथमा खैरो हिरोइन सेवन गर्दा प्रयोग गरिने सामाग्री समेत फेला परेकाले उनी लागु औषध प्रयोगकर्ता समेत भएको हुन सक्ने प्रहरीको भनाई छ ।

पारिवारीक स्रोतलाई उद्दृत गर्दै प्रहरीले जनाए अनुसार मृतक पठान चुरोट खान जान्छु भन्दै घरबाट आइतबार राती करिव १० बजेतिर बाहिर निस्केका थिए । मृतकको शव पोष्ट मार्टमका लागि भेरी अंचल अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । चोरी र लुटपाटका घटनाको सामना गरिरहेका नेपालगन्जबासी हत्याको घटना पश्चात त्रसित भएका छन् । पछिल्लो समयमा खस्किएको शान्ति, सुरक्षाको अवस्था सुधार गर्न सर्वसाधारणले प्रहरी, प्रशासनसँग माग गरेका छन् । उपमहानगर क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकल, साईकिल चोर्नेको विगविगी नै बढेको छ ।

यस्तै सडकमा हिड्ने महिलाका गरगहना, मोबाईल, झोला लगायत सामान लुटेर भाग्ने गिरोह समेत सक्रिय भएको सर्वसाधारण बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयमा चोरीको विषयमा मौखिक र लिखित रुपमा उजुरी दिनेको संख्या बढ्दै गएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी प्रमुख टेकप्रसाद राईले भने एकाध घटनालाई लिएर शान्ति, सुरक्षाप्रति आशंका गर्न नहुने बताएका छन् । ‘प्रहरीले शान्ति सुरक्षाका लागि थुप्रै राम्रा काम पनि गरेको छ, एकाध घटनालाई लिएर आशंका गर्न मिल्दैन ।’ उपमहानगर क्षेत्रमा हुने गरेका चोरी, लुटपाट र गुण्डागर्दीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुन अनुसार कारबाही गरिरहेको उनले जिकिर गरे ।

Womui
Womui