संविधान कार्यान्वयन विना स्थानीय निर्वाचन गर्न असम्भव

43

नेपालगन्ज, जेठ २४-
संविधान कार्यान्वयन विना स्थानीय निकायको निर्वाचन गर्न असम्भव भएको नेपाली कांग्रेसका नेताहरुले जोड दिएका छन् । सरकारले संविधान कार्यान्वयन प्रक्रियालाई लम्वाउने बहानामा जनतामाझ भ्रम सिर्जना गरी मंसिरमा स्थानीय निकायको निर्वाचनको हल्ला चलाएको उनीहरुको आरोप छ ।

Nepali Congresh Banke

नेपाली कांग्रेस बाँकेले नेपालगन्जस्थित पार्टी कार्यालयमा आइतबार गरेको अन्तरक्रियालाई सम्वोधन गर्दै पार्टीका केन्द्रिय सदस्य शंकर भण्डारीले संविधान कार्यान्वयनमा नआउँदै स्थानीय निकायको निर्वाचन गराउन मुलुकको हितका लागि असम्भव रहेको ठोकुवा गरे । ‘संविधानलाई कार्यान्वयन गर्नु पहिलो जिम्मेवारी छ, तराईका दल र थारु समुदाय अझैपनि आन्दोलनमा छन्,’ उनले भने ‘हिमाल पहाड र तराईका सबै जनता सहभागी हुने वातावरण तयार गरेर मात्र स्थानीय निकायको चुनाव हुनुपर्छ ।’ कांग्रेस मुलुकको एक मात्र लोकतान्त्रिक पार्टी भएकाले चुनाव लोकतन्त्रमा चुनाव गराउनुपर्ने कुरालाई कांग्रेसले नै बढी जोड दिदै आएको बताए । ‘लोकतन्त्रमा चुनाव गराउन अपरिहार्य छ, चुनाव हुनुपर्छ भनेर हामीले पनि भन्दै आएका छौं, तर सरकारले संविधान कार्यान्वयन नगरेरै चुनाव गराउन खोज्दा हाम्रो आपत्ती भएको हो, यसमा एमालेले गलत ढंगले व्याख्या गरिरहेको छ ।’

अर्का केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री रमेश लेखकले स्थानीय तहको संख्या र सिमा निर्धारण गरेर मात्र निर्वाचन गराउनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको बताए । ‘सरकारले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्नका लागि गत चैत १ गते आयोग गठन गरिसकेको छ, यो आयोगले एक वर्ष भित्रमा संख्या र सिमा निर्धारण गरिसक्नुपर्छ,’ उनले भने ‘यस हिसाबले आउँदो फागुन मसान्त भित्रमा संख्या र सिमाना निर्धारण हुनुपर्ने हो, यदी आयोगले सिमा र संख्या निर्धारण गरेन भने सम्वैधानिक बाधा अड्चन आइपर्छ ।’

आगामी फागुन सम्म नयाँ सिमा र संख्या निर्धारण गरेर चैतमा चुनाव गर्दा उपयुक्त हुने कांग्रेसका प्रभावशाली नेता लेखकको सुझाव छ । ‘चैतमा चुनाव गर्ने हो भने संविधान कार्यान्वयन पनि हुन्छ, स्थानीय निकायको निर्वाचन पनि गराउन सम्भव हुन्छ,’ उनले थपे । सरकारले यदी आगामी मंसिर महिनामा चुनाव गराउने हो भने कात्तिक सम्म स्थानीय तहको संख्या र सिमाना निर्धारण गर्नुपर्ने उनको आग्रह छ ।

Womui
Womui