अन्यौलमा द्धन्द्ध पीडित

52

नेपालगन्ज, बैशाख २०-
तत्कालिन सशस्त्र द्धन्द्धका क्रममा २०५९ असार १९ गते राती नौवस्ता–७ गाभरका राजाराम थारु सुरक्षाकर्मीद्धारा घरबाटै बेपत्ता पारिए । २७ बर्षिय राजारामलाई सकुशल छाड्न घरपरिवार र आफन्तले कयौं पटक नजिकका सुरक्षा निकाय कहाँ पुगेर विन्ती गरे, तर केही सिप चलेन । राजारामको अवस्था कतै पत्ता लागेन् । पतिको रिहाईका लागि राज्य विरुद्ध लड्दा–लड्दै थाकेकी श्रीमति पनि दोस्रो विवाह गरेर अर्कैसँग हिडिन् । उनका दुई छोरीले पनि विवाह गरेर घरजम गरिसके । शान्ति सम्झौताको करिव ८ वर्षपछि बेपत्ता राजारामको खोजीका लागि उनका दाजु रतिरामले नेपालगन्जस्थित स्थानीय शान्ति समितिको कार्यालयमा पुगेर उजुरी दिएका छन् । ‘बुहारी अर्कैसँग बिहे गरेर हिडिन, दुई छोरीको पनि बिहे भइसक्यो,’ रतिरामले भने ‘भाइको परिवार कोही नभएपछी उजुरी दिन म आफै आएको हुँ ।’

Donda Pidit Pic

उजुरी लिन ढिलाई हुदाँ धेरै कुरा विर्सिसकेको बताउँदै उनले थपे, ‘सुरक्षाकर्मीले बेपत्ता पारेको यत्रो वर्ष भइसक्यो, शान्ति सम्झौता लगत्तै उजुरी लिएको भए, हामीले धेरै कुरा भन्न सक्थ्यौं ।’ बेपत्ता छानविन आयोगका लागि उजुरी दिएका रतिरामले ४ पृष्ठ लामो फाराममा धेरै जसो विवरण खाली छाडेका छन् । आयोगले उजुरी लिएर काम थालिसकेपछि बेपत्ता पारिएका आफन्तको कहि न कहि स्थिती पत्ता लाग्ने झिनो आशा उनलाई छ । तत्कालिन सशस्त्र द्धन्द्धलाई सम्झदाँ कोहलपुर निवासी ६८ बर्षिया रबि बुढामगरको मन अहिले पनि झस्किन्छ । घरमा सुतिरहेको अवस्थामा माइलो छोरा यज्ञबहादुर बुढा र साईलो छोरा नरबहादुर बुढालाई सुरक्षाकर्मीले उठाएर नियन्त्रणमा लिए । २०५९ जेठ २७ गते बिहान पख घरभित्रै पसेर नियन्त्रणमा लिएका सुरक्षाकर्मीले यज्ञबहादुर र नरबहादुरलाई कहाँ पु¥याए, घर, परिवार अहिले सम्म अनविज्ञ छ ।

बेपत्ताको स्थिती पत्ता लगाइदिन पटक–पटक सरकारलाई दिएको दवावले केही गरेन । बुढेलकालमा बेपत्ता छोराको सम्झनाले यि बृद्धालाई सताइरहन्छ । बेपत्ता आयोगले अहिले आएर उजुरी लिन थालेपछि उनी अन्यौलमा छिन् । उनले भनिन् ‘छोराहरु फर्केर आउँछन् कि भन्ने आशा त लाग्छ, सरकारले अहिले उजुरी मागेर खै के गर्न खोजेको हो ?’ आयोगले छिटो उजुरी लिएर बेपत्ताको स्थिती सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ । रुकुमबाट बसाई सरेर कोहलपुरमा बसोबास गर्दै आएका उनीहरुलाई तत्कालिन सुरक्षाकर्मीले माओबादी भएको आरोप लगाएका थिए । माओवादी भएको आरोपमा अरु दुई छोरा भरतबहादुर र भिबहादुरलाई पनि सेनाले नियन्त्रणमा लिई केहीदिन सम्म यातना दिएर छाडेको बृद्धा रबिले बताईन् । बेपत्ता पारिएका दुई छोराको अवस्था पत्ता लगाउन र दुई छोरालाई शारिरीक र मानसिक रुपमा दिइएको यातनाविरुद्ध उनको परिवारले पनि शान्ति समितिमा पुगेर उजुरी दिएका छन् । ‘थोरै भएपनि आसा लागेको छ, न्याय दिने र नदिने उनीहरुको कुरा हो,’ बृद्धा रबिले भनिन् ।

बेपत्ता छानबिन आयोग र सत्य निरुपन तथा मेलमिलाप आयोगले द्धन्द्ध पीडितसँग उजुरी आब्हान गरेपछि स्थानीय शान्ति समितिको कार्यालयमा द्धन्द्ध पीडितहरु कमै संख्यामा पुग्ने गरेका छन् । दुबै आयोगले उजुरीका लागि फाराम वितरण र दर्ता गर्ने अधिकार स्थानीय शान्ति समितिको कार्यालयलाई दिएका छन् । कतिपय पीडितले शान्ति समितिमै फाराम भरेर बुझाउने गरेका छन, भने कतिले खाली फाराम बुझेर मात्रै घरमा लैजाने गरेको पाइएको छ । उजुरी आब्हान गरेको तीन सातामा दुबै आयोगमा १ सय २५ को हाराहारीमा मात्र उजुरी दर्ता भएको स्थानीय शान्ति समिति बाँकेका कार्यालय सचिव पिताम्वर आचार्यले बताए । धेरैजसो द्धन्द्ध पीडितको परिवारमा उजुरी दिन सदरमुकाम नेपालगन्ज आउन सक्ने सदस्य समेत सम्पर्कमा छैनन् । यसले गर्दा वास्तविक पीडितहरु उजुरी दिनबाटै बन्चित हुन सक्ने खतरा रहेको पाइएको छ ।

बेपत्ता छानबिन आयोगले बैशाख २ देखि जेठ मसान्त सम्मका लागि पीडितले उजुरी दिने समय तोकेको छ । यसैगरी सत्य निरुपन तथा मेलमिलाप आयोगले बैशाख ५ देखि आगामी असार २ गते सम्म उजुरी लिनेछ । शान्ति समितिको कार्यालयमा सोमबार सम्म बेपत्ताका परिवार र आफन्त बढी मात्रामा पुगेका छन् । तत्कालिन बिद्रोही र राज्य पक्षद्धारा बेपत्ता पारिएका व्यक्तिका विषयमा पीडित पक्षले बेपत्ता आयोगमा र शारिरीक तथा मानसिक यातना, विस्थापित, घरजग्गा सम्पत्ति कब्जा सम्वन्धी विषयमा पीडितले सत्य निरुपन तथा मेलमिलाप आयोगमा उजुरी दिने व्यवस्था मिलाइएको छ ।

Womui
Womui