खुल्नै सकेनन् माडी घटना पीडित

94

चितवन, फागुन २९–
सशस्त्र द्वन्द्वका बेला भएकामध्ये निकै जघन्य मानिएको माडी, बाँदरमुढे घटनाका पीडितसँग शुक्रबार सत्यनिरुपण तथा मेलमिलाप आयोगका सबै (पाँचैजना) पदाधिकारीले भेटेर अन्तरक्रिया गरेका छन् । पीडितसँग मात्रै बसेर छलफल गर्ने भनिए पनि कार्यक्रममा तत्कालीन विद्रोही माओवादीका प्रतिनिधिसमेत सहभागी थिए । कार्यक्रममा माओवादीका प्रतिनिधिलाई पनि देखेपछि अन्य सहभागीले आपत्ति जनाएका थिए । ‘दसैंमा काट्ने खसीलाई त खोरभन्दा पर राखिन्छ, यहाँ त जसले बम पड्कायो, उसैलाई समावेश गराउनुभयो, हामी कसरी बोल्ने ?’ पीडितका तर्फबाट बोल्दै माडी देवेन्द्रपुरकी पूर्णकला अधिकारीले भनिन् ।

तत्कालीन माओवादीले २०६२ साल जेठ २३ गते माडी, बाँदरमुढेमा यात्रु बसलाई निशाना बनाएर बम विष्फोट गराएको थियो । विष्फोटमा परेर तीन सैनिक र ३५ सर्वसाधारणको तत्कालै ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । घटनालगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘जनयुद्ध’ कालकै सबैभन्दा ठूलो भूल भएको भन्दै दुःखमनाउ गरेका थिए । उनले प्रेस विज्ञप्तिमार्फत तत्कालै घटनाप्रति माफी मागेका थिए । तर, अनुकूल समयमा माडी आएर पीडितसँग भेटी माफी माग्ने बाचा भने उनले अझै पूरा गरेका छैनन् । ‘को आए–आएनन् भन्दा पनि अहिले राज्यको ठूलो संयन्त्र यहाँ आयो तर उसले पनि विचार पु¥याएको देखिएन,’ बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने, ‘पीडितलाई उनीहरूसँगै राखेर भेट्न हुँदैन थियो।’

आयोग पदाधिकारी पनि बाँदरमुढे घटनाका पीडितलाई मात्रै भेट्नेगरी तय भएको कार्यक्रममा अन्य सहभागी देखेपछि आश्चर्यमा परेका थिए । माडीको जनजीवन प्राथमिक विद्यालयमा कार्यक्रम भएको थियो । कार्यक्रमबारे समाचारबाट थाहा पाएर आफूहरु आएको माओवादी समर्थकको भनाइ थियो । ’यसरी अन्य पक्षलाई पनि राखेर कार्यक्रम गर्न हामीले खोजेको होइन, जो बाँदरमुढे घटनाका पीडित हुनुहुन्छ, उहाँहरु मात्रै बसिदिनुहोला,’ आयोगकी सदस्य मञ्चला झाले अनुरोध गरिन् । झाको अनुरोधपछि भने वातावरण केही सहज भयो । माओवादीमा सक्रिय व्यक्तिहरु बाहिरिएपछि बाँदरमुढे घटनाका पीडित केही खुलेर कुरा गर्न थाले । आफूहरुले न्याय पाउने कुरामा भने ढुक्क हुन नसकेको उनीहरुको भनाइ थियो । आजको नागरिकमा खबर छ ।

Womui
Womui