बुद्धभन्दा जेठो सहर तिलौराकोट

143

कपिलबस्तु, फागुन २७–
कपिलवस्तुस्थित प्राचीन तिलौराकोट बुद्धकालीन समयभन्दा अघि नै व्यवस्थित र सुन्दर सहर रहेको अनुसन्धाताले दाबी गरेका छन् । अन्तराष्ट्रिय पुरातात्वविदसहित नेपाली टोलीले तीन वर्षदेखि जारी उत्खनन र अन्वेषणमा तिलौराकोटमा ईसापूर्व आठौँ शताब्दीमै व्यवस्थित र रमणीय सहर रहेको प्रमाण फेला पारेको जनाएको हो । बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद टोलीले तीन वर्षदेखि प्राचीन कपिलवस्तुस्थित बुद्धस्थल तिलौराकोट र कुदानमा अनुसन्धान जारी राखेका छन् ।

Tilaurakot Pic 1

अनुसन्धानमा संलग्न दुर्हम विश्वविद्यालयका प्राफेसर रबिन कनिङ्घमले चार तह माटो अध्ययनमा भेटिएका काठका खाँबो गाड्ने प्वाल हेर्दा तिलौराकोट आठौं शताब्दीअघिको कुसानकालीन सहर पुष्टि भएको बताए । ’अगकिङ’ माध्यमबाट गरिएको माटो अनुसन्धान र परीक्षणपछि त्यहाँ बुद्धका पिता राजा शुद्धोधन जन्मनुभन्दा अघि नै सुन्दर सहर रहेको देखिएको उनले जनाए । तिलौराकोटभित्र बाटो, चारवटा गेट, विभिन्न संरचना, पोखरी ट्यांकीसमेत फेला परेकाले तत्कालीन अवस्थामा यो स्थल काठमाडांैजस्तै व्यवस्थित सहर रहेको उनले बताए । यस वर्ष तिलौराकोटको मध्यभागमा गरिएको उत्खननबाट दरबारजस्तो देखिने संरचना भेटिएको र यो नै अहिलेसम्म भेटिएकामा सबैभन्दा महत्वपूर्ण प्रमाण रहेको जनाइएको छ ।

Tilaurakot Pic 2

अनुसन्धानमा जियो–फिजिकल सर्भेले देखाएअनुसारै दरबारजस्ता संरचना भेटिनु अहिलेसम्मकै उपलब्धि रहेको कनिङघमले दाबी गरे । सन् १९६२ मा भारतीय पुरातत्वविद देवला मित्रले तिलौराकोट दोस्रो र तेस्रो शताब्दीभन्दा पुरानो सहर नरहेको प्रतिवेदन दिएका थिए । उक्त प्रतिवेदन पूर्ण रूपमा गलत साबित भएको कनिङघमले जनाए । ‘भेटिएका पोस्ट होल, आठौं शताब्दीतिरका हुन, जतिबेला काठको खाँबो र खरबाट घर बनाउने चलन थियो,’ उनले भने । तिलौराकोटमा सन् २०१२ देखि नै लुम्बिनी विकास कोष र पुरातत्व विभागले विज्ञ टोलीमार्फत उत्खनन थालेका थिए । पाँचवर्षे अध्ययनले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत मिलेको पुरातत्वविद कोषप्रसाद आचार्यले बताए । तिलौराकोटभित्र र बाहिर गरिएको वैज्ञानिक अध्ययनबाट उपलब्धि मिलेको पुरातत्वविद आचार्यले बताउँदै भने, ‘तिलौराकोटमा भेटिएका पुरातात्विक वस्तुले यसको ऐतिहासिक प्रामाणिकता क्रमशः पुष्टि हुँदै गएको छ ।’

Tilaurakot Pic 3

तिलौराकोटमा बुद्धकालीन समयभन्दा अघि एउटा सुन्दर सहर रहेको धमाधम प्रमाण फेला पर्नुलाई राम्रो संकेत मानिएको उनले बताए । चिनियाँ यात्री हुयान स्याङ र फायनले प्रकाशित गरेको पुस्तकमा तिलौराकोटबारे लेखेको कुरा धेरै मेल खाएको आचार्यले बताए । उपेक्षित तिलौराकोट अहिलेको उत्खननपछि प्राचीन सहरको झझल्को दिने गरी परिवर्तित हुने हुँदा सूक्ष्म तरिकाले अध्ययन गरिएको विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए । यस वर्ष तिलौराकोट, कुदान, अरौराकोट, सगराहवा, चेत्रादेईलगायत स्थानमा रिक्स म्यापिङ, टोटल स्टेसन, जियो–फिजिकल सर्भे, अगरकिङ गरी अन्वेषण गरिएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui