हिमालय एयरलाइन्सले ल्यायो ठूलो जहाज

67

काठमाडौं, फागुन २६–
नेपाल र चीनको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्सले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो जहाज अवतरण गराएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित ’ए३२०–२१४’ सिरिजको १ सय ५८ सिट क्षमतायुक्त जहाज चीनको चेङ्दुबाट सिधै काठमाडौं ल्याइएको थियो। त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि जहाजलाई पानीको फोहोरा (वाटर क्यानन) र मंगलधुनबाट स्वागत गरिएको थियो ।

यो जहाजलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले ‘९एन–एएलएम’ कलसाइन दिएको छ । जहाजमा आठ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट रहेका छन् । ‘हाम्रो नियमित व्यापारिक उडान आगामी चैत अन्तिम साताबाट सुरु हुन्छ,’ हिमालय एयरलाइन्सका एक अधिकारीले भने, ‘त्यसको तीन महिनापछि अर्को जहाज ल्याउँछौं । कम्पनीका अनुसार पहिलो जहाजले काठमाडौंबाट कतारको दोहा र भारतको नयाँदिल्लीका लागि दैनिक उडान गर्ने छ ।

दोस्रो जहाज आएपछि चीनको ल्हासा, चेङ्दु र बेइजिङ उडान गर्ने योजना छ । पृथ्वीबहादुर पाँडे अध्यक्ष रहेको एचआइएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी प्रालि र आङछिरिङ शेर्पा अध्यक्ष रहेको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिले हिमालय एयरलाइन्समा लगानी गरेका छन् । नेपालका यी कम्पनीलाई चीनको तिब्बतस्थित तिब्बत एयरलाइन्स प्रालिले सघाएको छ । हिमालयमा नेपाली कम्पनीको ५१ प्रतिशत र तिब्बतको ४९ प्रतिशत लगानी छ ।

Womui
Womui