को हुन शेरबहादुर देउवा ?

34

काठमाडौं, फागुन २५–
बीसको दशकको अन्त्यतिर राजनीतिमा उदाएका देउवा कोइराला परिवारबाहिरबाट कांग्रेस सभापति बन्ने पाँचौं नेता हुन् । २०५३ पछि निरन्तर कोइराला परिवारमा रहेको कांग्रेस नेतृत्व १९ वर्षपछि देउवाको पोल्टामा आएको हो । २००४ जेठ ३० गते डडेलधुरा, असिग्राममा जन्मेका देउवा जुझारु राजनीतिक छविकै कारण ३० दशकको सुरुमै युवा पुस्ताबीच लोकप्रिय बनिसकेका थिए । बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका उनी २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गर्न सफल भए । त्यसअघि २०३६ को जनमत संग्रहमा पूर्व–पश्चिसम्मका सभा–समारोहमा बीपी कोइरालासँगै खटेका थिए । पञ्चायतविरुद्धको संघर्षमा भारत प्रवास नगई नेपालभित्रै विद्यार्थी आन्दोलनमा सक्रिय देउवाले पटकपटक गरी दस वर्ष जेलजीवन बिताएका छन् ।

Ser Bdr Deuba

२०४६ को परिवर्तनसँगै खुला राजनीतिक परिवेशमा पार्टी संस्थापक कृष्णप्रसाद भट्टराईसहित नेताको सहयोग लिँदै अघि बढेका देउवाले पछि तिनै गिरिजाप्रसादलाई पार्टी नेतृत्वमा चुनौती दिए । संस्थापक नेता भट्टराईको ’लिगेसी’ बिस्तारै देउवामा सरिरहेका बेला मुलुकमा संकटकाल लगाउने विषयमा २०५९ मा पार्टी्भित्र विवाद चर्कियो । यो प्रकरण लम्बिँदै जाँदा पार्टी विभाजन हुन पुग्यो । भट्टराईको संरक्षण तथा गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रलाई साथ लिएर देउवाले ’नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ नाममा छुट्टै पार्टी गठन गरेका थिए । पार्टी नेतृत्वका लागि तेस्रोपटक मैदानमा उत्रिएका देउवा दसांैं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए । पश्चिमा मुलुकस“ग सुमधुर सम्बन्ध भएको मानिने देउवा एक दशकअघि नै प्रधानमन्त्री र विपक्षी दलको नेता भइसकेका व्यक्ति हुन् ।

०४८ यताका संसदीय निर्वाचन र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट निर्वा्चित हुँदै आएका छन् । २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनले २०५२, २०५८ र २०६१ मा गरी तीनपटक मुलुकको प्रधानमन्त्री जिम्मेवारी सम्हालिसकेका छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक उनी २०५२ मा सर्वसम्मत र २०५८ मा सुशील कोइरालालाई पराजित गर्दै संसदीय दल नेता बनेका थिए । तर, २०७० मा दोस्रो संविधानसभा निर्वाचनपछिको संसदीय दल निर्वाचनमा भने उनी सुशीलसँगै पराजित भए । त्यसअघि २०६४ को संविधानसभा निर्वाचनपछि भएको संसदीय दल निर्वाचनमा पनि उनी पौडेलसँग पराजित भएका थिए । पार्टी निर्देशनविपरीत मुलुकमा संकटकाल लगाउने निर्णयसँगै २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि उनी आलोचित बन्न पुगे ।

देउवाको उक्त कदमसँगै तत्कालीन राजा ज्ञानेन्द्रले ’कु’ गरी शासनसत्ता आफ्नो हातमा लिए । माओवादी सशस्त्र द्वन्द्वका कारण निर्वाचन गराउन नसक्ने अवस्था हुँदाहुँदै संसद विघटनपछि देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो । त्यसलगत्तै उनले पार्टी विभाजन गरेर छुट्टै दल दर्ता गराएका थिए । २०६४ असोजमा पार्टी एकीकरणपछि उनी पार्टीको मर्यादाक्रममा दोस्रो स्थानमा रहँदै आएका थिए । सुदूरपश्चिमको सामान्य परिवारबाट आएर राजनीतिक उचाइ बनाएका देउवाले मन्त्री, प्रधानमन्त्री, विपक्षी दल नेताको जिम्मेवारी सम्हालिसके पनि पार्टी विधानको व्यवस्थाअनुसार पदाधिकारी जिम्मेवारी भने अहिलेसम्म पाएका थिएनन् । प्रजातन्त्र पुनःस्थापनापछि युवा उमेरमै प्रधानमन्त्री बन्न सफल नेताका रूपमा देउवाको चर्चा हुन्छ ।

तर, उनले मुलुक र पार्टीलाई युवापुस्ताले आशा गरेअनुसार अघि बढ्न नसकेको आरोप पार्टीकै नेताले लगाउने गरेका छन् । देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विटजरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियाको भ्रमण गरेका छन् । पार्टी नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता उनले जनाउँदै आएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui