देउवाले दोस्रो चरणमा जित्ने लगभग सुनिश्चित

26

काठमाडौं, फागुन २४–
कांग्रेस सभापतिका लागि पहिलो चरणमा खसेको मतको मिहिन विश्लेषण गर्दा शेरबहादुर देउवाले दोस्रो चरणमा जित्ने लगभग सुनिश्चित देखिएको छ । यसको पहिलो कारण, दोस्रो चरणको मतदानमा देउवा र रामचन्द्र पौडेलबीच मात्रै प्रतिस्पर्धा हुनेछ, कृष्णप्रसाद सिटौला रेसमा हुने छैनन् । नेपाली कांग्रेसको विधान अनुसार पहिलो चरणमा कसैले पनि खसेको मतको बहुमत नल्याएमा दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेद्वारबीच मात्र प्रतिस्पर्धा हुन्छ । सिटौलाले देउवालाई समर्थन गर्छन् कि पौडेललाई भन्ने एउटा ‘फ्याक्टर’ हो तर मुख्य ’फ्याक्टर’ होइन।जीतको लगभग नजिक पुगेका देउवालाई समर्थन गर्न सिटौला अंकगणितीय हिसाबले आर्कषित हुन सक्छन् । तर उनी संस्थापन पक्षमै रहेकाले देउवासँग जान्छन भन्नेमा धेरैलाई विश्वास छैन ।

Sherbahadur-Deuwa

उनी संस्थापन पक्षमै रहेभने पनि उनले प्राप्त गरेको सबै ३ सय २४ मत नै पौडेललाई जान कठिन छ । सिटौलाले पौडेलभन्दा सभापतिका लागि आफू नै लायक छु भन्ने तर्क गर्दै उम्मेद्वारी दिएका हुन । सिटौलाले पाएको मतमध्ये केही संस्थापन पक्षभित्रै पौडेललाई नरुचाउने मत पनि हो । पौडेलका विरुद्ध सिटौलाले पाएको त्यो मत सिटौला उम्मेद्वार नरहेको अवस्थामा फेरि पौडेललाई जान गाह्रो छ । बरु त्यो मत देउवालाई जाने सम्भावना प्रबल छ । सिटौलाकै कतिपय समर्थक पनि जीतभन्दा धेरै टाढा रहेका पौडेलको सट्टा विजय उन्मुख देउवाप्रति नै आकर्षित हुन सक्छन् । दोस्रो, सिटौलाको सबै मत रामचन्द्र पौडेललाई गयो भने पनि दुई जनाको मत जोड्दा देउवाले पहिलो चरणमा पाएको मतभन्दा कम हुन्छ । पहिलो चरणमा पौडेलले ११६० र सिटौलाले ३२४ मत पाएका थिए ।

जबकि देउवाले १५६४ पाएका थिए। त्यसैले सिटौलाको सबै मत पौडेललाई गयो भने पनि पहिलो चरणमा बदर भएका मत निर्णायक हुने छन्। पहिलो चरणमा सय मत बदर भएको छ । दोस्रो चरणमा बदर मत घट्ने सम्भावना रहन्छ । पहिलो चरणमा झुक्किएर मत बदर गरेका मतदाता दोस्रो चरणमा सचेत हुने छन् । पहिलो चरणमा बदर भएको सय मतमध्ये देउवा र पौडेललाई दास्रो चरणमा आधाआध पर्योे भने पनि देउवाको जीत सुनिश्चित हुन्छ । तेस्रो, मत तान्नका लागि चाहिने व्यक्तिगत स्वभाव र क्षमता पनि पौडेलको भन्दा देउवाको धेरै छ । विजयको सन्निकट रहेका देउवालाई दोस्रो चरणमा मत तान्न पौडेललाई भन्दा सजिलो हुनेछ ।

पहिलो चरणकै संख्यामा मत खस्यो भने पौडेललाई जीतका लागि आवश्यक पर्ने १५ सय ७५ मत प्राप्त गर्न थप ४ सय १५ मत ल्याउनु पर्ने हुन्छ । पहिलो चरणमा पौडेलको ११ सय ६० मत छ । जबकि देउवालाई १५ सय ७५ को जीतको लक्ष्य भेट्न ११ मत मात्रै थपे पुग्छ । हिजो मात्रै १५ सय ६४ मत दिएर देउवालाई विजय निकट पुर्याएका उनका मतदाताले आजै मन परिवर्तन गर्ने सम्भावना कम हुन्छ । यो विन्दुबाट पौडेलले ४ सय १५ मत बढाउने तर देउवाले ११ मत पनि नबढाउने भन्ने लगभग असम्भव छ । मतदानमा त्यसै पनि हावा जित्नेकै तर्फ चल्छ । त्यसैले दोस्रो चरणमा देउवाले जित्ने सुनिश्चित जस्तै छ ।

पहिलो संविधानसभा संसदीय दलको नेताको चुनावमा पौडेलले देउवालाई दोस्रो चरणको निर्वाचनमा पराजित गरेका थिए । पहिलो राउण्डमा देउवा सबैभन्दा अगाडि थिए भने पौडेल दोस्रो र अर्की उम्मेदवार सुप्रभा घिमिरे तेस्रो स्थानमा थिइन । पछि घिमिरेको लगभग सबै भोट पाएर पौडेल संसदीय दलको नेतामा वजियी बने । यसपालि भने त्यो इतिहास दाहोरिन लगभग असम्भव देखिएको छ ।

www.setopati.com

Womui
Womui