कांग्रेस सभापतिको जिल्लामा चुनावी सरगर्मी

32

नेपालगन्ज, माघ २५–
नेपाली कांग्रेस बाँकेको १३ औं जिल्ला अधिवेशन सोमबार( आज) हुदैछ । अधिवेशनले आगामी पाँच वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला सभापति, सचिव, कोषाध्यक्ष र महासमिति सदस्य पदका लागि आइतबार नै विभिन्न व्यक्तिले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला निर्वाचन अधिकृत रोहित वास्तोलाका अनुसार सभापति पदमा निरन्जनसिंह सिजापति, नारायण गौडेल, किरण कोईराला र लक्ष्मीनारायण शाहले उम्मेदवारी दर्ता गराइसकेका छन् । सचिव पदमा तप्त पौडेल, नरेन्द्र चौधरी र विजय यादव तथा कोषाध्यक्ष पदमा सुनिलकुमार कसौधन र मुन्ना सिद्धिकीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत बास्तोलाले जानकारी दिए । यस्तै जिल्ला अधिवेशनबाट २० जना महासमिति सदस्य निर्वाचित हुनेछन् ।

Congresh

महासमिति सदस्य पदका लागि विभिन्न व्यक्तिले उम्मेदवारी दर्ता गराएको बास्तोलाले बताए । चारै जना उम्मेदवारले आ–आफ्ना प्यानल तयार गरेका छन् । उम्मेदवारी दर्ता गराएका चारै जनाले जित सुनिश्चित भएको दाबी गरेका छन् । नेता सिजापतिले यसपटक आफुलाई पार्टीका नेता, कार्यकर्ताले न्याय गर्नुपर्ने माग गरे । ‘म अघिल्लो अधिवेशनमै सभापतिको उम्मेदवार बन्न लागेको थिए, त्यो बेला आदरणीय पार्टी सभापति सुशील कोईराला ज्यू लगायत सबै साथीभाईले डाक्टर अरुण कोईरालालाई सहयोग गर, अर्कोपल्ट तिमीलाई सभापति बनाउँछौं भन्नु भएको थियो, त्यसकारण मलाई यसपटक न्याय गर्नुपर्छ,’ उनले भने । पार्टीको विभिन्न पदमा लामो समय काम गरिसकेका सिजापतिले आगामी दिनमा पार्टीलाई अझ संगठित र उर्जावान बनाउने अठोट गरेका छन् ।

सभापतिका अर्का उम्मेदवार गौडेलले पार्टीको क्षेत्रीय सभापति हुदै जिल्ला सदस्यको जिम्मेवारी निर्वाह गरिसकेकाले जिल्ला सभापति हुने पालो आफ्नो भएको बताएका छन् । ‘मलाई प्रत्येक कार्यकर्ताले चिन्नुहुन्छ, अहिले पनि मलाई यो स्थान सम्म पु¥याउने सम्पुर्ण कार्यकर्ता नै हो,’ उनले भने ‘त्यसकारण कार्यकर्ताले मलाई साथ दिनेमा म पुर्ण रुपमा विश्वस्त छु ।’ आफु निर्वाचित भएर आइसकेपछि पार्टी सञ्चालनका लागि छुट्टै योजना बनाउने उनले प्रतिवद्धता जनाएका छन् । उनले थपे, ‘प्रत्येक भातृ संगठन, शुभेच्छुक संस्था, उद्योगी, व्यापारी, किसान सबैका पीरमर्का सम्वोधन गर्ने प्रयास गर्नेछु र सबैलाई समेटेर संगठनलाई शसक्त रुपमा अगाडी लैजान सक्छु ।’ कांग्रेस पार्टीमा लामो समयदेखि चलेको कोईराला परिवारको बिरासत जोगाउन उम्मेदवार बनेकी कोईरालाले आफ्ना पति पुर्व जिल्ला सभापति स्व. अरुण कोईरालाले गर्न बाँकी राखेका काम पुरा गर्नकै लागि सभापति बन्न खोजेको बताएकी छन् ।

‘डाक्टर साबले पार्टी सभापति चलाइरहेको अवस्थामा उहाँको निधन भयो, उहाँले बाँकी राखेका कामलाई पुरा गर्ने दायित्व म माथि रहेको छ,’ उनले भनिन् । आफु निर्वाचित भएपछि पार्टीलाई बलियो बनाएर लैजाने उनको सोच छ । आइतबार सभापति पदमा उम्मेदवारी दर्ता गरिसकेपछि उनले भनिन् ‘साथीहरुलाई भेटघाट गर्ने काम जारी राखेकी छु, चार वटै निर्वाचन क्षेत्रबाट मलाई सहयोग हुने विश्वास छ ।’ आफुलाई सभापतिमा जिताउने र हराउने जिम्मेवारी कार्यकर्ताको हातमा रहेको उनको भनाई छ । यता आफुलाई युवा नेताको रुपमा प्रस्तुत गर्दै आएका सभापतिका अर्का उम्मेदवार लक्ष्मीनारायण शाहले पनि तयारी आफ्नै ढंगबाट गरेका छन् । चुनाव प्रचारका लागि सबै बुथ इकाइमा पुगिसकेको बताउने शाह पछिल्लो समयमा कार्यकर्ताको रोजाईमा युवा नेता पर्ने गरेकोले जित्ने आधार बनेको बताएका छन् । ‘पार्टीभित्र नातावाद र अराजकता मौलाएको छ, यसलाई ताड्नका लागि मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

Womui
Womui