एकीकृत घुम्ती शिविर सञ्चालन हुने

56

भगीरथ अवस्थी
बैतडी, पुष ६–
आगामी माघ, फागुन र वैशाख महिनामा बैतडी जिल्लाका विभिन्न स्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको कार्यालय प्रमुखको बैठकले माघ अन्तिम साता शर्माली र कुलाउमा, फागुन अन्तिम साता पुरचौडी हाट तथा वैशाख अन्तिम साता च्वाँगढ क्षेत्रमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । शिविरमा जिल्लास्थित सरकारी कार्यालयले प्रदान गर्ने सेवाहरु प्रवाह गरिने उनले बताए । यस्तै कर्मचारी आचार संहितालाई पनि कडाई पूर्वक लागू गर्ने निर्णय उक्त बैठकले गरेको छ ।

कार्यालयमा समयमा पुग्नुपर्ने, पोशाक अनिवार्य रुपमा लगाउनुपर्ने कुराहरुलाई महत्व दिने निर्णय भएको प्रजिअ अधिकारीले बताए । जिल्लाका सबै सरकारी कार्यालयले प्रदान गर्ने सेवाका बारेमा नागरिक बडापत्र तयार गर्ने र यसलाई माघ १५ गतेभित्र प्रकाशन गरिसक्ने निर्णय समेत भएको छ । सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा जिल्ला सदरमुकाममा सार्वजनिक सुनुवाईको आयोजना गर्ने र यसको संयोजक जिल्ला हुलाक कार्यालयले गर्ने निर्णय समेत भएको छ । जिल्लामा आपूर्ती व्यवस्थालाई सहज बनाउन आपूर्ती समिति सक्रिय रहने निर्णय बैठकले गरेको छ । बैतडीमा ब्लड बैंकको अभावमा शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने महिलालाई समस्या हुने गरेकाले ब्लड बैंक स्थापनाका बिषयमा के गर्न सकिन्छ भनेर आगामी बैठकमा वृहत छलफल गर्ने निर्णय समेत भएको छ ।

Womui
Womui