सुदुर र मध्यपश्चिममा खाद्यान्न संकट

49

बाजुरा, पुष ३–
सुदूर र मध्यपश्चिमका पहाडी जिल्लामा यस वर्षको बर्खे बाली खडेरीले नफल्दा घरमा हातमुख जोड्न गाह्रो हुने भन्दै गाउँका बालबालिकासहित भारतमा जाने क्रम सुरु भएको छ । हुम्लाको कालिका गाविसका पंकज शाहीले आफ्ना १० वर्षका छोरा र छिमेकका केही अरू बालबालिकासमेत सँगै लिएर भारत जानका लागि बाजुरा जिल्लाको तिपाडा बसपार्कमा बसेर प्रतीक्षा गरिरहेका छन् । उनीहरु महेन्द्रनगर हुँदै बनबासा नाकाबाट भारतमा काम गर्न जान लागेका हुन् ।

यस क्षेत्रका बाजुरा, हुम्ला, मुगु र कालीकोटमा खडेरीका कारण बर्खे बाली उत्पादनमा ७० प्रतिशतभन्दा बढी क्षति भएको छ । सिँचाइको सुविधा नभएका यहाँका गाउँमा सबै गाउँ आकाशे पानीको भरमा खेती लगाउने गर्दछन् । यस वर्ष धान, कोदो, चिनो, कागुनो र मकैसमेत खडेरीले फलेको थिएन बाजुराको जुकोट–२ किसानी चदाराले बताइन् । हुम्ला पाल्सा गाविसका १५ बालबालिका र केही अभिभावक बैतडी हुँदै झुलाघाट भएर भारतका कुमाउ गडवालमा गएर काम गर्ने र केही महिना पेट पाल्ने जोहो गर्ने तयारीमा छन् । जुकोट गाविस–२ का पर्वले चदारासमेत आफ्ना दुई छोरा साथमा लिएर भारत गएका छन् । उनको घर कुर्नका लागि ७५ वर्षीय उनका बुबा बिर्सिगे चदारा मात्र छन् । अहिले गाउँमा बुढाबुढी र अशक्त मात्र छन् ।

हुम्लाको पाल्सा गाविसको कैलाश पुरी माविमा कक्षा ५ मा अध्ययनरत मङ्गल शाही आफ्ना १० जना दैतरीका साथ भारत जानका लागि तिपाडा आएका थिए । उनीहरु एकआपसमा सल्लाह गरिरहेका थिए । उनी जस्तै पाल्सा, कालिका, मैला, मदना, श्रीनगर काक्या लगायतका गाविसबाट आएका हूलका हूल बालबालिका दिनदिनै भारतमा कामका लागि जाने गरेका छन् ।

Womui
Womui