काँग्रेस कार्यालयमा पटक–पटक चोरी

68

नेपालगन्ज, मंसिर २८–
नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा पटक–पटक चोरी हुने गरेको छ । नेपालगन्ज–१३ स्थित कार्यालयको ताला फोडेर विभिन्न कागजपत्र बाहिर फालेको फेला परेपछि आइतबार चोरीको अर्को घटना सार्वजनिक भएको हो । करिव ८ महिना अघिपनि काँग्रेस पार्टी कार्यालयको ताला फोडेर कम्प्यूटर, साउण्ड बक्स लगायत सामान चोरी भएको थियो । प्रहरीले उक्त घटनाको रहस्य पत्ता नलगाउँदै फेरी अर्को चोरीको घटना दोहोरिएको छ । प्रहरीका अनुसार रातको समयमा कार्यालयको हल कोठा र क्षेत्र नम्वर–३ को कार्यकक्षको ताला फोडेर चोरले आवश्यक कागजात चोरी गरेको हो ।

NC Banke

कार्यकक्षमा रहेको पार्टीसँग सम्वन्धित कागज पत्रहरु भएको वाकस कोठा बाहिर कोलियामा फ्याँकेको देखेपछि आइतबार बिहान कार्यालयका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक वीरबहादुर थापा नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेपनि चोरको पहिचान भने गर्न सकेन् । उक्त घटनाको अनुसन्धान कार्य जारी रहेको प्रहरी निरिक्षक थापाले बताएका छन् । केही कागजात र बाकसलाई बाहिर फ्याकेपनि चोरले अन्य कुनै सामान नलगेको प्रहरीले जनाएको छ । ‘कार्यालयको ताला फोडिएको रहेछ,’ एक प्रहरीले भने ‘चोरले काँग्रेस पार्टीको अर्ध कट्टी रसिद बाहिर फ्याकेको भएपनि अरु सामान नलगेको जस्तो देखियो ।’ पार्टी कार्यालय पटक–पटक चोरको निसानामा पर्न थालेपछि नेपाली काँग्रेस बाँकेका पदाधिकारी आश्यर्चमा परेका छन् ।

प्रहरी, प्रशासनले जिल्लाको शान्ति सुरक्षामा निकै सुधार आएको दाबी गरेपनि सदरमुकामभित्रै रहेको आफ्नो कार्यालयमा पटक–पटक चोरीको घटना दोहोरिदा दुःख लागेको काँग्रेस नेताहरुको गुनासो छ । नेपाली काँग्रेस बाँकेका सचिव रवीन्द्र हमालले पटक–पटक चोरी हुनुको रहस्य पत्ता लगाउने काम प्रहरीको भएको बताए । ‘पटक–पटक पार्टी कार्यालयको ताला फोडिएको छ, आखिरमा कसले यो काम गरिरहेको छ, यसको वास्तविकता पत्ता लगाउने काम प्रहरीको हो,’ उनले भने । आठ महिनाअघि कम्प्यूटर, साउण्ड बक्स लगायत सामान चोरी भएपनि यसपटक ताला फोडेर केही कागजात मात्र बाहिर फ्याँकेको सचिव हमालले बताएका छन् ।

Womui
Womui