निजी क्षेत्रले इन्धन आयात गर्न पाउने

64

काठमाडौं, मंसिर २१–
सरकारले स्वदेशी उद्योग र पूर्वाधार आयोजनालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ कच्चा पदार्थको रुपमा आयात गर्न दिने भएको छ । पेट्रोलियम पदार्थको अभावमा धेरै उद्योग–धन्दा र जलविद्युत आयोजनाको काम रोकिएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रलाई कच्चा पदार्थको रुपमा इन्धन आयात गर्न दिने निर्णय गरेको हो । यसका लागि मन्त्रालयले आवश्यक तयारी थालिसकेको स्रोतले बतायो । स्वप्रयोजनका लागि आयात गरेको इन्धन अरुलाई बेच्न भने पाइने छैन ।

उद्योग–धन्दा र पूर्वाधार आयोजनाहरु बन्द हुँदा रोजगारी गुम्नुका साथै उत्पादनसमेत ठप्प भएर बजारमा अभावको स्थिति देखिएको छ । त्यही जटिलता हटाउन सरकारले उद्योगी, व्यवसायीलाई इन्धन आयात गर्ने बाटो खुला गर्न लागेको मन्त्रालयका एक अधिकारीले बताए । भारतको नाकाबन्दीपछि मुलुकका धेरैजसो उद्योग–धन्दा र पूर्वाधार आयोजना इन्धन अभावले बन्द भएका छन् । यस्तो बेला उनीहरुलाई नै आयात गर्न बाटो खोलिदिए राज्यलाई राजस्व पनि आउने र उद्योग–धन्दा पनि चल्ने मन्त्रालयले जनाएको छ ।

Womui
Womui