संविधानले मुलुकलाई स्थायित्व नदिने सिटौलाको दावी

130

काठमाडौं, मंसिर १३—
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको संविधानबाट मुलुकले स्थायित्व नपाउने बताएका छन् । संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता सिटौलाले संसद्को तल्लो सदनमा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएकाले मुलुकले कहिलै स्थायित्व नपाउने बताए । नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पस इकाइ समितिले आयोजना गरेको अन्तरक्रियामा महामन्त्री सिटौलाले तल्लो सदनमा सबै प्रत्यक्ष र माथिल्लो सदनमा समानुपातिक व्यवस्था गर्नुपर्ने कांग्रेसको प्रस्तावलाई अस्वीकार गरिएकाले मुलुक अस्थिरताको सिकार हुन लागेको तर्क गरे । तत्कालीन संविधानसभा अन्तर्गतको संविधान मस्यौदा समितिका सभापतिसमेत रहेका सिटौलाले तल्लो सदनमा पनि समानुपातिकको व्यवस्था गरिएकोप्रति आफूलाई अहिलेसम्म पनि चित्त नबुझेको उल्लेख गरे ।

उनले सबैलाई समेटेर लैजाने नाममा चित्त नबुझ्दानबुझ्दै पनि कतिपय गलत विषय र व्यवस्थाहरु नयाँ संविधानमा परेको बताए । ‘नयाँ संविधान बनेपछि नेपाललाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने थियो, आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व अनिवार्य हुन्छ, तर राजनीतिक स्थायित्व दिन नसक्ने संविधान बनेकाले आर्थिक समृद्धि पनि पछाडि धकेलिएको छ,’ उनले भने । महामन्त्री सिटौलाले मानिसको गरिबी, रोग, भोक, अशिक्षा नहटेसम्म मानिसको दिमागमा विद्रोहको भावना रहिरहने उल्लेख गरे । र मौका पाउन साथ विद्रोह प्रकट हुने भन्दै मुलुकलाई फेरि पनि अस्थिरतामै रुमल्याउने फोहोरी खेलमा पुग्ने अवस्था देखापरेको बताए ।

Womui
Womui