उत्कृष्ठ करदाता र कर्मचारी सम्मानित

95

नेपालगन्ज, मंसिर ७–
चौथो राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता तथा कर्मचारीलाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा सोमबार आयोजित ‘कर सप्ताह’ समापन समारोहमा सम्मान गरिएको हो । आन्तरिक राजश्व कार्यालय प्रमुख नारायणप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगतर्फ विनोद मेटल ईन्ड्रिस्टच नेपालगन्ज, बैंक तथा वित्तिय क्षेत्रबाट कर्णाली विकास बैंक, ब्यापार क्षेत्रबाट नेपाल ट्रेड च्यानल नेपालगन्ज, मार्सल जनरल स्टोरर्स एण्ड अर्डर सप्लायर्स विरेन्द्रनगर सुर्खेत, ओम शिवशंकर स्टोर, बाँसगढी बर्दिया, दैलेख केएल इन्टरप्राइजेज एण्ड सप्लायर्स र जुम्लास्थित विपिन स्टोर्स सम्मानित भए ।

सोही कार्यक्रममा आन्तरिक राजश्व कार्यालय नेपालगन्जका नायव सुब्बा धातानन्द ज्ञवालीलाई उत्कृष्ठ कर्मचारीका रुपमा नगद सहित सम्मान गरियो । सम्मानपछि बोल्ने बक्ताहरुले लगातरको तराई आन्दोलन र भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण निर्धारित राजश्व संकलन हुन नसकेकोले राष्ट्रलाई ठुलो आर्थिक नोक्सानी भएको बताए । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेठष्ठले राष्ट्र निमार्णमा निजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै कुनै एकाध व्यक्ति र फर्मले कर छल्दैमा सबै निजी क्षेत्र गलत भएको मान्नु अन्याय हुने बताए । उनले भने, ‘राज्यले संकटका बेला कालोबजारी रोक्न नसक्दा उद्योग ब्यवसायले दिनहुँ करोडौंको घाटा अहिले बेहोनु परिरहेको छ ।’ राजश्व अनुसन्धान मध्य तथा सुदुरपश्चिम क्षेत्रीय कार्यालय कोहलपुरका अनुसन्धान प्रमुख शिवप्रसाद भण्डारीले नाकाबन्दीका कारण व्यवसाय धरासायी हुदै गएका कारण असहज परिस्थतीलाई सरकारले छिटै सहज बनाउनुपर्नेमा जोडदिए ।

कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख लालबहादुर कार्कीले भने राज्य सञ्चालनका लागि प्रमुख आम्दानीको श्रोत नै कर भएको बताए । करतिर्ने प्रत्येक नागरिकको कर्तब्य भएको उनको भनाई छ । करछलीको प्रवृत्ति बढ्दो रहेकोले करको दायरामा ल्याई सवल राष्ट्र निमार्णमा अग्रसर हुनुपर्ने नेपालगन्ज प्रमुख मालपोत अधिकृत शंकरबहादुर विष्टले बताए । राजश्व कार्यालयका कर अधिकृत धर्मबहादुर रोकायले स्वागत मन्तब्य व्यक्त गरेको उक्त कार्यक्रम सञ्चालन अर्का कर अधिकृत नन्दबहादुर भण्डारीले गरेका थिए ।

Womui
Womui