तथ्य लुकाएर आयल निगमबाटै कालोबजारी

54

काठमाडौं, मंसिर २–
नेपाल आयल निगमले कालोबजारीको पोल खुल्ने डरले भारतबाट ल्याइएको पेट्रोलियम पदार्थको बिक्रीवितरणसम्बन्धी विवरण वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत उपलब्ध गराएको छैन । तीनपटक माग्दा पनि विवरण र तथ्यांक उपलब्ध गराउन अटेर गरेपछि मन्त्रालय निगमलाई निर्देशन दिने तयारीमा छ । इन्धन बिक्रीवितरणमा निगमकै मिलेमतोमा कालोबजारी भइरहेको सार्वजनिक भएपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि के÷कति पेट्रोलियम पदार्थ काठमाडौं भित्रिएको र कुनरकुन पम्पबाट बिक्रीवितरण भएको नखुलेको भन्दै मन्त्रालयले तत्काल सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिए पनि निगमले बेवास्ता गर्दै आएको छ ।

‘इन्धन वितरणको सम्पूर्ण विवरण उपलब्ध गराउन पटक–पटक निर्देशन दिएका छौं, तर निगमले आजसम्म दिएको छैन,’ मन्त्रालय उच्चस्रोतले मंगलबार भन्यो, ‘यसको अर्थ आफूले गरेको कालोबजारीको पोल खुल्छ भन्ने नै हो । हामी कुनै पनि हालतमा विवरण लिएरै छाड्छौं ।’ मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक बिदा परेकाले निगमलाई बुधबार आज लिखित निर्देशन दिएर विवरण माग्नेछ । मन्त्रालयका उपसचिव शिव त्रिपाठीले अहिलेसम्म तीनपटक विवरणका लागि ताकेता गरेको जानकारी दिए । तर निगमले आफ्नो कर्तुत खुल्ने भएकाले सम्पूर्ण विवरण उपलब्ध गराउन आनाकानी गरेको मन्त्रालयको बुझाइ छ ।

नाकाबन्दीपछि पनि ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात भइरहेको तर त्यसको वितरण उचित नभएको गुनासो आएपछि मन्त्रालयले सम्पूर्ण जानकारी माग गरेको हो । निगमका पदाधिकारी विभिन्न बहाना बनाएर वितरण गरिएको पेट्रोलियम पदार्थको जानकारी नदिएको हुन सक्ने बताइएको छ । आजको नागरिकमा खबर छ ।

Womui
Womui