किन टुङ्गो लागेन सरकार–मोर्चा वार्ता ?

44

काठमाडौं, कात्तिक २४

सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच सोमबार हुने भनिएको वार्ताको टुङ्गो लाग्न सकेन । गत १६ कात्तिकमा भएको वीरगन्ज घटनाप्रति सरकारले माफी नमागेकाले सोमबारलाई तय वार्ता हुन नसकेको आन्दोलनरत मोर्चाका नेताहरूले बताएका हुन् । सरकारले वीरगन्ज घटनाप्रति माफी माग्ने बताएपछि दुवै पक्षबीच वार्ताको तयारी भएको थियो । मोर्चाको वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले सरकारी वार्ता टोलीका संयोजक तथा उपप्रधानमन्त्री कमल थापालाई फोन गरी पहिला वीरगन्ज घटनाप्रति माफी माग्न आग्रह गरेका थिए । त्यसलगत्तै थापाले मिडियालाई जानकारी गराई माफी माग्ने जवाफ दिएका थिए । आइतबार साँझ उनीहरूबीच भएको अनौपचारिक वार्तापछि सोमबार वार्ता हुने तय भएको थियो । कर्णसँगै तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ल पनि सहभागी थिए । पछि, सरकारी टोलीका संयोजक थापाले माफी नमागेपछि सोमबार वार्ता नभएको सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले जानकारी दिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यसैगरी, आइतबार साँझ सप्तरीको भारदहमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपले पनि वार्ताको वातावरण बिग्रेको मधेसी नेताहरूको भनाइ छ । उनीहरूका अनुसार सरकारले वार्ता भाँड्ने गरी घटना दोर्होयाइरहेको आरोप मोर्चाका नेताहरूले लगाएका छन् ।

 

Womui
Womui