थरुहट/थारुवानद्वारा अनिश्चितकालीन आम हड्तालसहितको आन्दोलन घोषणा

52

काठमाडौं, कात्तिक २३

चाडपर्वको लागि भन्दै आन्दोलनको स्वरूप परिवर्तन गरेको थरूहट/थारूवान संयूक्त संघर्ष समितिले अनिश्चितकालीन आम हड्तालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ५ गतेबाट पूर्वमेचीदेखि महाकालीसम्म राजमार्ग ठप्प पारेर अनिश्चितकालीन आमहड्तालको घोषणा गरेको हो। समितिद्धारा घोषित अन्य आन्दोलनका कार्यक्रमहरुमा मंसिर ४ गते साँझ मसाल जुलुस गर्ने, मंसिर ७ र ११ गते थारु पहिचान र अधिकार विरोधी संविधानका धाराहरु चलाउने,  ब्यवस्थापिका संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मेची काली जागर र विरोध सभा चलाउने, केन्द्रका नेताहरुको सहभागितामा जिल्ला  र क्षेत्रमा विरोध सभा आयोजना गर्ने र मुद्दा मिल्ने पक्षसँग कार्यगत एकता गरेर आन्दोलनलाई अझै सशक्त पार्ने लगायतका रहेका छन्।

पत्रकार सम्मेलनमा समितिका प्रवक्ता अमनलाल मोदीले आफूहरुको मुद्दा विशुद्ध थारुको भएकोले यसलाई मधेसीको एजेण्डासँग जोडेर कुण्ठित पार्न नहुने बताए।

उनले आफूहरुको आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने भन्दै अधिकार स्थापित गरेर मात्रै आन्दोलन समापन हुने ठोकुवा गरे। मोदीले आफूहरु समग्र मधेसमा तीन प्रदेशको पक्षमा रहेको भन्दै नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा, सुनसरी, मोरङ्ग, झापा, सिराहा, सप्तरी र उदयपुरको एक र बाँकी तराईमा अर्को प्रदेशगरी तीन प्रदेश हुनु पर्ने बताए।

समितिका अध्यक्ष धनिराम चौधरीले मधेसी मोर्चाको दुई प्रदेशको मागमा पनि आफूहरुको विमति नरहेको भन्दै आफू उत्तर दक्षिण जोडिनु हुँदैन भन्ने पक्षमा रहेको बताए। उनले महाभारतदेखि दलका क्षेत्र तराई मधेस भएको समेत बताए।

Womui
Womui