एक चौथाइ सहकारी संस्था मात्रै सक्रिय

40

भगीरथ अवस्थी
बैतडी, कात्तिक १९
जिल्लामा स्थापना भएका सहकारी संस्थामध्ये एक चौथाइ मात्र सक्रिय रहेको डिभिजन सहकारी कार्यालयले जनाएको छ । डिभिजन सहकारी कार्यालयमा दर्ता भएका २०८ सहकारी संस्थामध्ये ६५ को हाराहारीमा सहकारी संस्था मात्र सक्रिय रहेका डिभिजन सहकारी कार्यालयका प्रमुख वासुदेव भण्डारीले जानकारी दिए ।
जिल्लामा बचत तथा ऋण सहकारी संस्था, कृषि सहकारी संस्था, विद्युत सहकारी संस्था, बहुउद्देश्यीय सहकारी संस्था, जुनार, मौरीपालन, उपभोक्ता सहकारी संस्था दर्ता रहेका छन् । जिल्लामा ९६ बचत तथा ऋण सहकारी संस्था, ७१ ओटा कृषि सहकारी संस्था , दुईओटा संघ तथा अन्य सहकारी संस्था रहेका छन् । विभिन्न संघसंस्थाको उद्देश्य परिपूर्तिका लागि गठन भएका सहकारी संस्थाको कार्यक्रम सकिनासाथ उक्त संस्था निष्क्रिय हुने गरेका छन् । यसका साथै व्यवस्थापन र लेखा व्यवस्थापन सम्बन्धी आवश्यक सीपको अभावमा पनि सहकारी संस्थाहरु निष्क्रिय हुने गरेको पाइएको छ । लगातार दुई वर्षसम्म वार्षिक साधारणसभा नगरेका सहकारी संस्थालाई निष्क्रियको सूचीमा राख्ने प्रावधान रही आएको छ । निष्क्रिय रहेका सहकारी संस्थालाई दर्ता खारेजीसम्म गर्न सकिने सहकारी अधिकृत भण्डारीले बताए ।

Womui
Womui