काठमाडौं, कात्तिक १७
नयाँ शक्ति बनाउने भन्दै पार्टीबाट एक्लै बाहिरिएका बाबुराम भट्टराईलाई साथ दिन उनी निकटका चार दर्जन एमाओवादी केन्द्रीय तहका नेताले एमाओवादी छाडेका छन्। मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा कार्यालय मुख्य सचिव हितराज पाण्डेलाई असहमतिपत्र बुझाउँदै उनीहरुले एमाओवादी पार्टीको रुपमा नरहेको समेत आरोप लगाएका छन्। उनीहरुले पत्रमा सिधै राजीनामा नभनी ‘नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुट्ने’ पदावली उल्लेख गर्दै भट्टराईको नयाँ पार्टीमा लाग्ने जनाउ दिएका छन्। एमाओवादी छाड्नेमा भट्टराईपत्नी हिसिला यमीसहित भट्टराई प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका गंगानारायण श्रेष्ठ र प्रेस सल्लाहकार रहेका रामरिझन यादव रामचन्द्र झा, नवराज सुवेदी, रामकुमार शर्मा र एमाओवादी बुद्धिजीवी अध्यक्ष खिमलाल देवकोटालगायत ४५ जना छन्।