चन्दा प्रकरणले एमालेभित्र खैलाबैला

28

काठमाडौं, कात्तिक ८–
चन्दा लिएको प्रकरणले एमाले पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । निर्वतमान सभासद राज्यलक्ष्मी गोल्छाले नेतालाई व्यक्तिगत रूपमा कुस्त चन्दा दिएको खुलासा भएपछि खैलाबैला मच्चिएको हो । केही नेताले चन्दाको विषयमा छानबिन हुनुपर्ने कुरा सार्वजनिक रूपमै उठाएका छन, भने केहीले उनको भनाइलाई अस्वीकार गरेका छन् । पार्टी प्रवक्ता तथा एमाले सचिव योगेश भट्टराईले गोल्छाले उठाएको चन्दा प्रकरणमाथि पार्टीले छानबिन गर्नुपर्ने बताएका छन् । ‘पार्टीसँग जोडिएको आर्थिक विषयमा पारदर्शी ढंगले छानबिन हुनुपर्छ र सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ उनले भने । गोल्छाले पार्टीका नेताहरूलाई करोडौं चन्दा दिएको कुरा सञ्चार माध्यमलाई बताएकाले छानबिन गर्नुपर्ने उनको भनाई छ ।imgres
सभासद गोल्छा एमालेले पार्टी अनुसार नचलेको भन्दै राजीनामा दिन लगाएपछि सभासद उनले सञ्चार माध्यमसँगको अन्तर्वार्तामा एमालेका विभिन्न नेतालाई कुस्त रकम चन्दा दिएर सभासद भएको खुलासा गरेकी थिईन् । नेताहरूबाट व्यवसायीसँग चन्दा लिने कार्य भएको स्वीकार गर्दै भट्टराईले त्यस्तो रकम पार्टीको खातामा जम्मा हुनुपर्ने बताए । चन्दा दिएकै आधारमा सभासद बनाउने हो भने नयाँ नीति बनाउन उनले पटक–पटक नेतृत्वको ध्यानाकर्षण गराएका थिए । ‘कसलाई बनाउने, पार्टीभित्रकै व्यवसायीलाई बनाउने कि अरूलाई बनाउने, चन्दा कति प्रतिशत सम्म लिनेजस्ता कुरा समेटेर नयाँ नीति बनाउन मैले माग गर्दै आएको हुँ,’ सचिव भट्टराईले भने, ‘त्यसो गर्न सकेको भए पार्टीलाई पारदर्शी बनाउन सहयोग पुग्थ्यो तर सुनुवाइ भएन ।’
यता एमाले आर्थिक विभागका प्रमुख विष्णु रिमालले भने गोल्छाको भनाइको कुनै तुक नभएको र छानबिन पनि नहुने बताएका छन् । गोल्छाले पार्टीप्रति लगाएको आरोपलाई ‘सुनियोजित’ बताउँदै उनले यस्तो विषयमा छानबिन गर्नु बेकार भएको उल्लेख गरे । ‘उनलाई सभासद बनाउने बेलादेखि नै एउटा समूह निकै मरिहत्तै गरेर लागेको थियो, अहिले पनि त्यो समूह पार्टीलाई बदनाम गराउने खेलमा लागेको छ,’ उनले भने । राष्ट्रपति चयनका बेला बेकारका प्रायोजित कुरामा अड्किन नहुने बताए ।

Womui
Womui