सप्तरी, कात्तिक १
फत्तेपुर सडकपूर्वतर्फ टिनले छाएको सामान्य झुप्रो । छेउमा भैंसी र केही खसी–बाख्रा बाँधिएका छन् । झ्वाट्ट हेर्दै निम्नवर्गीय किसान परिवारको घरजस्तो देखिन्छ । घर रेखदेखको जिम्मा एउटी महिलामाथि छ, पुरुष त राजनीति गरेर पार्टी हुँदै देशकै रेखदेखको जिम्मेवारी सम्हाल्दैैछन् । यही हो सत्यनारायण मण्डलको घर । एमाले नेता, नवनियुक्त मन्त्रीको थातथलो । तलोत्तमादेवी मण्डलकी कान्छी पत्नी हुन् ।
किसानपत्नीको एकाएक परिचय फेरिएको छ– मन्त्रीपत्नी । दैनिकी भने फेरिएको छैन । दिनहुँ बिहानै जंगल जान्छिन्, घाँस–दाउरा ल्याउँछिन्, भैंसी, बाख्रालाई घाँसकुँडो गर्छिन् । सप्तरीको कमलपुर (हाल सप्तकोसी नगरपालिका) निवासी निम्नवर्गीय किसान तथा नेता सत्यनारायण मण्डलसँग २५ वर्षअघि बिहे गरेकी तिलोत्तमादेवीको दिनचर्या यसैगरी बित्छ ।
शुक्रबार उनको घर पुग्दा भैंसीलाई घाँस हाल्दै थिइन् । ’मन्त्री क्वाटर कहिले जाने त ?’ भनी जिज्ञासा राख्दा एकछिन हाँसेर तिलोत्तमाले भनिन्, ’जान त पक्कै पनि जान्छु, तर त्यहाँ बस्न होइन, उहाँ (पति) सँग भेट्न मात्रै ।’ पछिल्लो संविधानसभा चुनावमा मण्डल एमालेबाट समानुपातिक सभासद चुनिए । त्यसयता कहिले काठमाडौं, कहिले गाउँ दुवैतिर धाइरहनुपर्ने बाध्यता उनले सुनाइन् । ’उहाँ (पति) बिरामी हुनुहुन्छ, दिनमा दुईपटक इन्सुलिन लिनुपर्ने बाध्यता छ,’ तिलोत्तमाले भनिन, उहाँलाई बेलाबखत नहेरी हुँदैन, यता घर रेखदेखको जिम्मा पनि मैमाथि छ ।’ तिलोत्तमाको बिहे ०४८ सालमा भयो, त्यतिबेलै उनी सांसद थिए । मण्डलले राजनीतिमा निकै संषर्घ गर्नुप¥यो । तर, त्योभन्दा कम संघर्ष तिलोत्तमाले पनि गरेकी छैनन् । ’दुःख र संघर्षको कुरै नगरे हुन्छ,’ उनी भावुक भइन् । ’उहाँसँगका २५ वर्ष प्राय दुःख, कष्ट र संघर्षमै बिते,’ आँखा पुछ्दै उनले भनिन्, ’तर आज ती दुःखद सम्झना हराएर गएको छ । हामीले संघर्ष र त्यागको प्रतिफल पाएजस्तो लागिरहेछ ।’ मण्डलको डेढ बिघाजति पुख्र्यौली जमिनमध्ये अधिकांश अझै पनि कर्जामै छ । परिवारका सदस्य बिरामी पर्दा लिएको ऋण तिर्न सकेको छैन । साहूले ब्याजको स्याज जोड्दै जाँदा कर्जाको रकम झन्डै ८ लाख नाघिसकेको छ ।
जस्तोसुकै विपत्तिका बेला पनि पतिले राजनीतिमा इमानदारी नत्यागेको तिलोत्तमा बताउँछिन् । पतिको राजनीतिक संघर्षका दिनहरू सम्झिँदै उनले भनिन्, ’दुःख–कष्टले मन अत्यन्तै पिरोलेपछि कहिलेकाहीँ मैले पार्टीका ठूला नेतासँग सहयोग माग्नुस् भन्दा पनि उहाँले कहिल्यै त्यस्तो गर्नुभएन, उल्टै मलाई सम्झाउनुहुन्थ्यो ।’ एकछाक खाएर पनि आफ्नो स्वाभिमानसँग सम्झौता गर्न नमान्ने पतिको सिद्धान्तभन्दा फरक छैनन् तिलोत्तमा पनि । घरको आर्थिक अवस्था दिन प्रतिदिन खस्किँदै गएपछि आफू पशुपालनतर्फ लागेको उनको भनाइ छ । ’उहाँलाई खेतीबारी र पशुपालनमा निकै रुचि छ र मेहनती पनि त्यत्तिकै हुनुहुन्छ,’ उनले भनिन् । छोराहरूको पढाइ र परिवारको भरणपोषणको मुख्य आधार खेती र पशुपालनै रहेको उनी बताउँछिन् । ’राम्रो आर्थिक हैसियत नभएकाले छोरालाई राम्रो विद्यालय पढाउन सकिएन,’ उनले भनिन्, ’दुवै छोराले गाउँकै सामुदायिक विद्यालयबाट एसएलसी गरे, पढाइमा लगनशील भएर पनि उनीहरूका लागि लगानी गर्न नसकेकोमा दुःख लाग्छ ।’ मण्डलका जेठा छोरा चिन्तन कञ्चनपुरमै बिबिएस अध्ययनरत छन् भने कान्छो निर्माण मनमोहन पोलिटेक्निक इन्स्टिच्युटमा ओभरसियर पढ्दैछन् ।
तिलोत्तमाले आफ्ना पतिलाई कसैले पनि औंला उठाउन नपाउनेगरी काम गर्न र इमानदारीपूर्वक देशको सेवा गर्न सुझाव दिइन् । ’मलाई अरू केही चाहिएन, उहाँले इमानदारीपूर्वक काम गरे पुग्छ ।’ मण्डलकी जेठी पत्नी दुर्गादेवी मानसिक रोगी छिन् । किसान विद्रोह क्रममा मण्डल भूमिगत रहेकै बेला जेठी पत्नीबाट जन्मिएका एक छोरा बिरामी भएर बिते । कैयौं दिनसम्म छोरा बिरामी परेर छटपटाइरहँदासमेत पति गाउँ फर्केनन् । समयमा उपचार नपाएर छोराको मृत्यु भएपछि शोकले दुर्गा बिस्तारै मानसिक विक्षिप्तताको सिकार बनिन् । पछि, उपचारबाट उनको अवस्थामा निकै सुधार आएको छ । दुर्गाको हेरचाहको जिम्मा पनि कान्छी तिलोत्तमामै छ । आजको नागरिकमा खबर छ ।