जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको उद्‍घाटन

104

भगीरथ अवस्थी
बैतडी, असोज १७
जिल्लाको पाटनमा जल उत्पन प्रकोप नियन्त्रण कार्यालय डिभिजन नम्बर २४ को उद्‍घाटन गरिएको छ । कार्यालयको आज एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उद्‍घाटन गरेका हुन् । कार्यालयको उद्‍घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले नदी कटानको समस्या न्यूनीकरणका लागि यसअघि धनगढीमा रहेको कार्यालयसँग आग्रह गर्नु पर्ने बाध्यता रहेकोमा अब सजिलो हुने बताए।

कार्यालयले बैतडी, दार्चुला र बझाङ  गरी तीन जिल्ला हेर्ने निमित्त डिभिजन प्रमुख तेज नारायण महतोले बताए । कार्यालयले नदीको कारण कटान भइरहेको खेतीयोग्य जमिनको संरक्षणका लागि पहल गर्ने उनले बताए। यस्तै बाढी पहिरो नियन्त्रणका लागि समेत कार्यालयले काम गर्ने निमित्त प्रमुख महतोले बताए। विभिन्न प्रकारका प्रकोपहरु नियन्त्रणका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने उनले बताए। यस्तै कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले कार्यालयले सञ्चालन गर्ने कार्यमा सहयोग पुर्‍याउने प्रतिबद्धता समेत जनाएका छन् । पाटनमा जलउत्पन्न प्रकोप नियन्त्रणको कार्यालय स्थापनाले धेरै सहयोग हुने उनीहरुले बताएका छन् । विभिन्न ठाउँमा खेतीयोग्य जमिन नदीहरुले कटान गरिरहेको अवस्थामा त्यसको न्यूनीकरणका लागि कार्यालयले पहल गर्ने उनीहरुले विश्वास समेत गरेका छन् ।

Womui
Womui