भारतको तेल बहिष्कार गर्छौः आयल निगम

44

काठमाडौं, असोज १७

भारतले दिने तेल नेपाल आयल निगमले बहिष्कार गर्ने बताएको छ । आइतबारदेखि नाकाबन्दी खोलेको झुठो प्रचार गर्दै भारतले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउने बताए पनि त्यसो नगरी हेपाहा प्रवृत्ति देखाएकाले निगमले भारतले दिने तेल बहिष्कार गर्ने बताएको हो ।

भारतीय नेपालमा लगाएको नाकाबन्दीले देशभरको जनजीवन कष्टकर बनेका बेला नाकाबन्दी खुलेको खबर आएपछि आइतबारै आयल निगमका ११० ट्यांकर इण्डियन आयल कर्पोरेसन आइओसीको डिपोहरुमा पुगेका थिए । तर, भारतले १२ घण्टा नबित्दै कुरा फेर्‍यो र नेपालको मागको १० प्रतिशत मात्र तेल दिने बतायो । नाकाबन्दी खोलेको प्रचार गरेर भारतले झुक्याएपछि निगमले तेल बहिस्कारको निर्णय लिएको हो । ‘१ सय १० ट्याकंर पठाउँदा १० वटा पनि नभर्ने भनेपछि किन तेल भरेर लाचार बन्ने ?’ आयल निगमका एक अधिकारीले आक्रोश पोख्दै भने-‘तेल पनि अत्तर झै जिउमा लगाउनका लागि ल्याउने होइन, त्यति तेल भरेर ‘तेल दिएका छौं’ भन्न खोजिएको हो भने हामीले किन भर्ने ?’ शनिबार साँझ भारतको विदेश मन्त्रालयले निर्देशन दिएको भन्दै आईओसीले नेपाललाई माग बमोजिम तेल दिने भन्दै आयल निगमलाई जानकारी गराएको थियो ।

दिल्लीमा रहेका नेपाली राजदूत दीपकुमार उपाध्ययले पनि आघोषित नाकाबन्दी खुलेको जानकारी गराएका थिए भने भारतीय राजदूत रञ्जित रायले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आपूर्ति सहज हुने ब्रिफिङ गरेका थिए । तर, त्यसको केही घण्टापछि आईओसीले तेल लिन रक्सौल, सिलगुढी र इलाहवादको डीपोमा बोलाएको थियो । आइतबार बिहानै नेपाली ट्यांकरहरु डिपोमा पुग्दा त्यहाँ पुगेका ट्यांकरहरु मध्ये १० प्रतिशतलाई मात्र तेल दिने बताएपछि भारतले झुक्याएको भेद खुलेको हो ।

आयल निगमले वीरगञ्ज पारिको रक्सौल डिपोमा ६३, काँकडभिट्टा पारिको सिलगुढी डिपोमा ४० र कैलालीपारीको इलाहवादमा ६ वटा ट्यांकरलाई तेल भर्न पठाएको थियो । तर, बिहान आइओसीका अधिकारीले १० प्रतिशत ट्यांकरमाम मात्र लोड दिने बताएको आयल निगमले जनाएको छ ।

 

Womui
Womui