आन्दोलनस्थल विवादले मोर्चामा तनाब

124

नेपालगन्ज, असोज १७–
आन्दोलनको विषयलाई लिएर बाँकेमा मधेसी मोर्चा विभाजित देखिएको छ । मोचाभित्रको एउटा पक्षले भारतीय भूमिमा आन्दोलन गर्नुपर्ने र अर्को पक्षले नेपालमा गर्नुपर्ने अडान लिँदा विवाद बढेको हो । विवादकै कारण शनिबार दिउँसो नेपालगन्ज नाकाको दसगजा क्षेत्रमा दुई पक्षबीच तनाब उत्पन्न भयो । दुवै समूह एकअर्कालाई आरोप–प्रत्यारोपमा उत्रिएपछि बढेको तनाब प्रहरीले साम्य पारेको थियो । मोर्चा्भित्रैका नेता, कार्यकर्ता विभाजित भएर भारतीय र नेपाली भूमिमा छुट्टाछुट्टै आन्दोलन गरेका थिए । संयुक्त मधेसी मोर्चाका संयोजक विजय गुप्ताको नेतृत्वमा रहेका आन्दोलनकारी दसगजापारि र फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष हिरालाल लोनिया तथा सद्भावना गजेन्द्रवादीका नेता राजकिशोर मिश्रसहितका कार्यकर्ताले नेपाली भूमि जमुनाहामा बसेर आन्दोलन गरेका हुन् । त्यसक्रममा एक समूहले ’भारतीय दलाल’ र अर्कोले ’नेपाल प्रहरीका एजेन्ट’ भन्दै एकअर्कालाई आरोप–प्रत्यारोप गरेका थिए ।
44
फोरम लोकतान्त्रिकका अध्यक्ष लोनियाले सीमापारिबाट आन्दोलन गर्नु उचित होइन भन्दै त्यसो नगर्न अनुरोध गरेपछि उनीमाथि मोर्चाका केही व्यक्तिले ’प्रहरीको एजेन्ट’ भएको आरोप लगाएका थिए । लोनियामाथि यस्तो आरोपपछि मोर्चा दुई समूहमा अलग भएको थियो। ’भारतीय गुलामी गर्नेहरूले आन्दोलनलाई बदनाम पारिरहेछन्,’ लोनियाले भने, ’नेपाली भूमिमै बसेर शान्तिपूर्ण आन्दोलन गरौँ भन्दा मलाई उल्टो आरोप लगाइयो ।’ आरोपपछि लोनियासहित करिब २० जना नेता, कार्यकर्ता दिनभर जमुनाहा क्षेत्रमा बसे । ’बरु नेपाली भूमिमै आन्दोलन गरेर प्रहरीको कुटाइ खान र गिरफ्तार हुन ठिक,’ लोनियाले भने, ‘गलत व्यक्तिका कारण मधेस आन्दोलन बदनाम भइरहेछ ।’ अध्यक्ष लोनियालाई समर्थन जनाउँदै फोरम लोकतान्त्रिकका उपाध्यक्ष मिसबाह उलहक अन्सारीले अर्काको भूमिबाट आन्दोलन गरेर भारतको गुलामी नगर्न मोर्चाको नेतृत्वलाई चेतावनी दिए । ‘हिम्मत छ भने नेपाली भूमिमा आएर आन्दोलन गर, होइन भने त्यहाँबाट फुर्ती नदेखाऊ,’ आक्रोशित अन्सारीले दसगजावारिबाट मोर्चाका नेतालाई भनेका थिए ।

फोरम लोकतान्त्रिकले सुरुदेखि नै नेपाली भूमिमै बसेर आन्दोलन गर्नुपर्ने बताउँदै आए पनि गलत नेतृत्वका कारण भारतीय भूमि प्रयोग भएको उनको भनाइ छ । संयुक्त मधेसी मोर्चाका संयोजक विजय गुप्ताले भने नेपाली भूमिमा आन्दोलन गर्दा प्रहरीले दमन गर्ने भएकाले सीमापारि जानुपरेको बताए । केन्द्रीय कार्यक्रमअनुसार आफूहरूले दसगजामा आन्दोलन गरेको उनको भनाइ छ । मोचाभित्र सबै व्यक्तिको एउटै विचार नभएको भन्दै उनले कसैको व्यक्तिगत विचारलाई संगठनसँग जोड्न नमिल्ने जिकिर गरे । ‘उहाँहरू हाम्रो मोर्चामा आफैं आबद्ध हुन आउनुभएको हो, अहिले आएर जे मन लाग्यो त्यही गर्दै हुनुहुन्छ,’ गुप्ताले भने ।

qqq

मोर्चाका सह–संयोजक रामकुमार दीक्षितले नेपाली भूमि आफूहरूका लागि सुरक्षित नरहेको बताए । ‘नेपाली भूमिमा आन्दोलन गर्ने बित्तिकै प्रहरीले जबरजस्ती उठाउँछ, दसगजामा आएर हामीलाई समात्ने प्रहरीको हिम्मत हँुदैन,’ उनले भने । दसगजा दुवै देशको साझा भएकाले आन्दोलन गर्न पाउनुपर्ने दीक्षितको माग छ । मधेसी मोर्चाको नाकाबन्दीलाई मध्यनजर गर्दै शनिबार दिनभर जमुनाहा क्षेत्रमा खटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिक्मत बोहराले आन्दोलनका विषयमा मोचाभित्र विवाद भएको बताए । ‘एउटा समूहले सीमावारि आन्दोलन गर्नुपर्छ भन्दा अर्को समूहले प्रतिवाद गरेपछि झडप हुन सक्ने अवस्था देखियो, हामीले विवाद समाधान गरिदियौँ,’ उनले भने । नेपाली भूमिमा आन्दोलन गर्न प्रहरीले कुनै अवरोध नगरेको प्रहरी निरीक्षक बोहराले दाबी गरे । भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मी र सवारीसाधनमाथि ढुंगा हान्ने काम बन्द गर्नुपर्ने अडान लिँदै आएको फोरम लोकतान्त्रिकले यस्तै अवस्था रहे आन्दोलनमा सहभागिता नजनाउने चेतावनी दिएको आजको नागरिकमा खबर छ ।

Womui
Womui