एक महिनापछि चन्द्रबहादुर डाँगीको शव नेपाल पाइपुग्यो

32

काठमाडौं, असोज १५

chandra bdr dangiविश्वकै होचा जीवित व्यक्तिको रुपमा २०६८ फागुन १४ गते गिनिज बुक अफ रेकर्डसमा नाम लेखाएका नेपाली चन्द्रबहादुर डाँगीको शव शुक्रबार बिहान नेपाल ल्याइएको छ। विक्रम संवत १९९६ मंसिर १५ गते दाङमा जन्मिएका डाँगी कार्यक्रमको सिलसिलामा अमेरिकास्थित अमेरिकन सामोआ टापु पुगेका थिए । त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि उपचारको क्रममा लिन्डन बी जोन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारार्थ उनको भदौ १८ गते मृत्यु भएको थियो । विभिन्न कारणवश उनको शव नेपाल ल्याउन निकै समस्या परेको थियो। उनको मृत्यु भएको करिब एक महिना हुन लाग्दा आज बल्ल मलेसियन एयरलाइन्स मार्फत् शव नेपाल आइपुगेको हो।

विश्वभर नेपालको नाम चिनाएका चन्द्रबहादुरको मृत्युपछि नेपाल सरकारले कुनै वास्ता नगरेको डाँगीका भतिजा दोलख डाँगीले गुनासो गरे। दोलख चन्द्रबहादुरसँगै अमेरिकन सामोआ गएका थिए, तर चन्द्रबहादुरको शव ल्याउन समस्या भएपछि केही दिन अघि नेपाल आएका थिए।

मलेसिया हुँदै मलेसियन एयरलाइन्सबाट ल्याउन खोज्दा पनि सुरुमा इन्धनको समस्या देखाएर टार्ने काम भएपनि अन्त्यमा धेरै अनुरोध र सिफारिसमा मात्र मानेको उनले बताए। चन्द्रबहादुरको शवलाई आजै त्रिभुवन विमानस्थलबाट शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।  नेपाल सरकारको सहयोगमा एकदिन श्रद्धान्जली कार्यक्रम गरेर मात्र उनको शव जन्मस्थान सल्यान लैजाने तयारी रहेको दोलखले बताए। तर सरकारले यस विषयमा कुनै चासो नदिइएको उनले गुनासो गरे। सरकारको वेवास्ताका कारण आफूहरु दोधारमा परेको पनि उनले बताए।

बाँचुन्जेल सबैले हाइहाइ भएका चन्द्रबहादुरको मृत्युपछि कसैले वास्ता नगरेको र चन्द्रबहादुर गैरकानुनीरुपमा अमेरिकन सामोआ गएको झुटो हल्ला फैलाएकोमा उनले आक्रोश पोखे। ‘विश्वमै वैधानिकरुपमा गिनिज बुकमा नाम लेखाउने व्यक्तिलाई कुनै देशले सम्मानका लागि बोलाउँदा कसरी बिना भिसा अवैधानिक रुपमा जान्छ?’उनी प्रश्न गर्छन्। ‘बाँचुन्जेल त उहाँलाई दुःखै थियो, केही समय खुसी पाउनुभएको थियो, त्यो पनि मरेपछि यस्तो हालत भयो,’ उनले भने, ‘उहाँको अन्त्येष्टिका लागि सिंहदरबार धाउँदा धाउँदा विजोग भइसक्यो।’

 

Womui
Womui