थारु आन्दोलनकारी र प्रहरीबीच मैनापोखरमा झडप

37
बर्दिया,  असोज १३
जिल्लास्थित मैनापोखरमा थरुहट/थारुवान संघर्ष समितिका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । आन्दोलनमा उत्रिएका थारु महिलाले रोकेको गाडी छुटाउने क्रममा दुई पक्षबीच झडपहुँदा  ३ जना प्रहरी  घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार नरजंग रोका, प्रहरी हवल्दार तीर्थराज गिरी, प्रहरी जवान गीता चौधरी रहेका छन्। भीडलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार र लाठ्ठी चार्ज गरेको छ। आन्दोलनकारीतर्फ ८ जना सामान्य र २ जना गम्भीर घाइते  भएको  आन्दोलनकारीले बताएका छन्। घाइते दुई आन्दोलनकारीको थप उपचारका लागि नेपालगन्ज लगिएको छ।
जिल्लाको अन्य ठाउँमा जनजीवन सामान्य भए पनि आन्दोलनकारीले मैनापोखरमा सवारी साधन आवागमनमा अवरोध पुर्‍याउँदै आएका छन्। मैनापोखरमा २०—३० जनको समूहले गाडीलाई अवरोध पुर्‍याउँदा यातायात संघले सञ्चालन गर्ने साना, ठूला गाडी तथा निजी सवारी ठप्प हुने गरेको छ। गत भदौ १८ गते भएको झडपका क्रममा प्रहरी हवल्दार देवबहादुर पाण्डेको आन्दोलनकारीले प्रहार गरेको गोली लागि मृत्यु भएको थियो भने संघर्ष समितिले कुनै पनि हालतमा ७ प्रदेशको सीमाङकन नमान्ने बताउँदै चितवनदेखि कञ्चनपुरसम्म थरुहट प्रदेशको माग गर्दै आएको छ ।
Womui
Womui