‘युवा मानसिकताको व्यवस्थापन आवश्यक’ 

114

नेपालगन्ज– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सही ढंगले व्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले देश निर्माणका लागि युवाजन्य मानसिकताको व्यवस्थापन आवश्यक रहेको बताए ।

परिषदका अध्यक्ष समेत रहेका मन्त्री अथकले युवाहरुलाई असल कार्यका लागि मानसिक रुपमै तयार गर्नुपर्ने बताए । नेपालमा तीन थरीका युवाहरु रहेको जिकिर गर्दै मन्त्री अथकले भने, “एकथरी स्वदेशमै केही गरेर सफल भएका, अर्कोथरी विदेश गएर सीप सिकेर आएका र नेपालमै केही गर्न चाहने युवा छन् भने स्वदेशमा केही गर्न नसकेर आफ्नै जीवनदेखि निराश भएका तेस्रो थरी युवाहरु पनि हाम्रै समाजमा छन् ।” उनीहरुलाई एउटै सुत्रमा बाँधेर नयाँ जीवन कसरी देखाउन सकिन्छ भन्ने तर्फ सबैले ध्यान दिनुपर्ने मन्त्री अथकको भनाइ थियो ।

युवाहरुलाई नेतृत्व तहमा पु¥याउने आधार तयार गर्न युवा परिषदले विगतदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै मन्त्री अथकले आदर्श जीवनका लागि युवा उमेरदेखि नै सत्कार्यको अभ्यास हुने खालको वातावरण तयार गर्ने दायित्व राज्यको भएको बताए । अबका युवाहरुले व्यवस्था परिवर्तनका लागि कुनै संघर्ष गर्नुपर्ने अवस्था नरहेकाले उद्यमशील कार्यमा ध्यान दिनसमेत मन्त्री अथकले आग्रह गरे ।

युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा युवा अभियन्ता तथा युथ भिजन २०२५ निर्माण कार्यदलका सदस्य प्रदिप परियारले युवाको अवस्था, चुनौती र अवसर विषयक कार्यपत्र पेश गरेका थिए । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै विभिन्न वक्ताहरुले सुझाव समेत दिएका थिए ।

Womui
Womui