बाँकेसहित ४ जिल्लामा जींकयुक्त मकै खेती 

59

नेपालगन्ज–विगत ४ वर्ष यता बाँकेसहितका ४ जिल्लामा जींकयुक्त मकै खेती उत्पादन सुरु गरीएको छ । मानवस्वास्थ्यका लागि आवश्यक मानिएको पोषक तत्व जींकको कमीले वर्षेनि विश्वमा ४ लाख मानीसहरुको ज्यान जाने गरेको छ । जींक भनेको मानिसको शरीरलाई चाहिने सूक्ष्म पोषक तत्व हो । दाल, फर्सीको बियाँ, रातो मासुमा पनि पाइने भए पनि सबैभन्दा बढी यो मकैमा पाइने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

अन्य मकैमा सामान्यतया २१ प्रतिशत जींक हुने गरेकोमा नयाँ विकास गरीएको मकैमा साढे ३१ प्रतिशत भेटिएपछि बाँकेसहितका ४ जिल्लामा यसको उत्पादन सुरु गरिएको हो । प्रयोगशालामा परीक्षण गर्दा यस्तो नतिजा पाइएपछि बाँके, बर्दिया, रुकुम र जाजरकोटमा यो मकैको विउ उत्पादन सुरु गरीएको ग्लोबल एग्रिटेक प्रालि नेपाल (गेट नेपाल) बाँकेका प्रमुख टिकाराम रिजालले बताए । ‘यो हाइब्रिड जातको मकै पनि होइन्, लोकल पनि होइन’ उनले भने – ‘ यो मकै सेतो रंगको हो । गतवर्ष आर्थिक वर्ष ०७७÷७८ को बैशाख, जेठ र असारमा पहिलो चरणमा खेती गरिएको हो ।’

बर्दियाको मैनापोखर, बाँकेको बेतहनी, रुकुमको खोलागाउँ र जाजरकोटको कार्कीगाँउ गरी पहिलो चरणमा १० हेक्टर जमिनमा यसको खेती गरिएको उनले बताए । यो मकै प्रतिहेक्टर ६ मेट्रिकटनका दरले उत्पादन क्षमता भएकोमा विउका रुपमा गत वर्ष ३ मेट्रिकटन उत्पादन भएको थियो ।

बर्दियाको बारबर्दिया नगरपालिकामा ३ हेक्टर अर्थात साढे ४ विघामा रोपिएको थियो । यस वर्ष पनि बारबर्दियामा गत मंसिरमा यो मकै रोपिएको छ । यो मकै रोपेको १ सय १० दिनमा तयार हुन्छ । सरदर मकै बर्खामा १२०–१२५ दिनमा, माघ १५– फागुन१५ सम्ममा रोपिएको मकै ११० दिनमा तयार हुने गरेको छ भने मंसिर दोस्रो सातामा रोप्दा १२० दिनमा तयार हुने गरेको छ ।
बाँके जिल्लाको बैजनाथ, बेतहनी लगायतका क्षेत्रमा गतवर्ष रोपिएको भए पनि गतवर्ष मौसमका कारणले दोश्रो लटको खेती नभएको उनले जानकारी दिए ।
ग्लोबल एग्रिटेक प्रालि नेपाल (गेट नेपाल) बाँकेको आयोजनामा नेपालमा जिंकयुक्त मकैमा बिगत ४ वर्ष अगाडिदेखि अध्ययन हँुदै आएको भए पनि गतवर्षबाट मात्रै जींकयुक्त मकैको विउविजन उत्पादन, बजारीकरणको सुरुवात गरिएको हो ।

राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र रामपुर चितवन र गेट नेपाल बाँकेले संयुक्त रुपमा प्रपोजल तयार पारि राष्ट्रिय विउविजन गुणस्तर नियन्त्रण कार्यालयमा यो जातको मकै दर्ता गर्नका लागि यस सम्बन्धी कागजात पेस गरिसकिएको छ ।

अन्य जातको मकैभन्दा धेरै फल्ने, विउ बनाएर बेच्दा नाफा हुने भएपछि किसानहरु पनि खुशी भएका छन् । बर्दिया बढैयातालका किसानले गेट नेपालले विउ किनीदिने भएपछि थप सहज भएको बताए । क्विन्टलको ४ हजार ८ सय रुपैयामा विक्रि गरेको उनले बताए । सिँचाइ कम हुँदा पनि फल्ने भएकाले किसानहरु खुशी भएका छन् ।

यसैबीच, जींकयुक्त मकै प्रबद्धन कार्यक्रम सम्बन्धी बुधवार यसक्षेत्रका सरोकारवालासंग छलफल गोष्ठी गरिएको छ । गोष्ठिमा बिउ विजन प्रजननकर्ता डार्विन जोशीले यो जातको मकै उत्पादनमा भएका रिसर्च, यसको उत्पादनका बारेमा जानकारी दिएका थिए । यस्तै भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले जींकको फाइदा, बेफाइदा लगायतका विषयमा सहजीकरण गरेकी थिइन् ।

यस क्षेत्रका गल्ला व्यापारी सहकारी, विउ उत्पादक किसान, सिड ल्याव, कृषि अनुसन्धान कार्यालय नार्क, अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रका विउ प्रजनकहरुका विच छलफल गोष्ठि गरिएको हो ।

 

Womui
Womui