आयोग भन्यो मताधिकार सुरक्षित गर्नुस्

90

 नेपालगन्ज– स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते तोकिएको छ । निर्वाचन आयोगले सोहीअनुसार तयारी गरिरहेको छ । निर्वाचनसम्बन्धी क्रियाकलाप अघि बढाउन मातहतका निकायलाई निर्देशनसमेत दिइसकेको छ । आयोगको निर्देशनअनुसार काम भइरहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुमप्रसाद सुवेदीका अनुसार जिल्लामा केन्द्रको निर्देशनअनुसार काम भइरहेको छ । निर्वाचन आयोगले फागुन ५ गते विभिन्न कारणले परिचयपत्र नष्ट भएका वा हराएका परिचयपत्र पुनः बनाउनुपर्ने भएकोले निःशुल्करुपमा वितरण गर्न मातहतका निकायलाई परिपत्र गर्ने निर्णय गरेको थियो । सुवेदीले सोहीअनुसार जिल्लास्तरबाट समेत अपील गरिएको उनले बताए । आयोगको ५ गतेकै निर्णयअनुसार मतदाता परिचयपत्र हराएको भए, सम्बन्धित वडामा गएर वा इमेल, फ्याक्स वा अन्य विधिमार्फत पठाएमा समेत दर्ता हुन्छ ।

कार्यालय प्रमुख सुवेदी बाँके जिल्लामा पनि कसैको परिचयपत्र हराएको वा नष्ट भएको भए कार्यालयमा निवेदन दर्ता गराएर नयाँ बनाउन सबै पालिकालाई जानकारी गराइएको बताए । यो अभियान देशैभरि सञ्चालन भइरहेको पनि उनले बताए । यही २० गतेसम्म निवेदन दर्ता गर्ने अन्तिम समय रहेकोले चाडै मतदाता परिचयपत्र लिन पनि उनले आग्रह गरेका छन् । ‘मतदाता परिचयपत्र हराएको भए, नयाँको लागि निवेदन लिने कार्य भइरहेको छ । २० गतेसम्म अन्तिम समयसीमा छ,’ उनले भने, ‘नजिकको कार्यालयमा गएर वा अनलाइनमार्फत् पनि निवेदन दर्ता गर्न सकिन्छ ।

लोकतान्त्रिक प्रक्रियामा भाग लिने निर्वाचन सुनौलो अवसर हो । आफ्नो मताधिकार सुरक्षित गर्न अपील गर्न चाहन्छुँ ।’ निर्धारित समयमा निवेदन दर्ता गरेमा नयाँ परिचयपत्र प्राप्त गर्ने उनको भनाइ छ ।

यसैगरी निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक र दाबी विरोध सूचना निकाल्ने तयारी गरिरहेको छ । उक्त कार्यक्रम १९ गतेबाट सुरु हुने निर्वाचन अधिकृत सुवेदीले बताए । उनका अनुसार कार्यक्रम २६ गतेसम्म सञ्चालन हुनेछ ।

Womui
Womui