हाडनाता (छोरी)करणी गर्नेलाई ४३ वर्ष कैद

106

नेपालगन्ज– आफ्नी १४ वर्षीय छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत दैलेखले ४३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको शुक्रबारको ईजलासले दैलेख सदरमुकाम नजिकैका ३९ वर्षीय ती बाबुलाई ४३ वर्ष कैद र एक लाख रूपैयाँ क्षतिपुर्तिको फैसला गरेको हो । अदालतले छोरीलाई हाडनाता करणी गरेको कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १८ वर्ष गरी ४३ वर्ष कैद सजायको फैसला गरेको हो ।

अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेका अनुसार मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) र ३ (ख) बमेजिम फैसला गरिएको हो। २२० को उपदफा २ (क) मा जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैदको व्यवस्था छ। उपदफा ३ (ख) मा १०–१४ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १८ देखि २० वर्ष कैद हुने व्यवस्था छ। २०७७ मंसिर १९ गते १४ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै पीडित पक्षले मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा सोही दिन प्रहरीले उनलाई घरबाट पक्राउ गरेको थियो। पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडित बालिकाको बयानलगायतको प्रमाणका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७७ पुस १६ गते दैलेख जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धी अभियोग दर्ता गराएको थियो। अभियुक्त बाबुलाई पुस १६ गतेकै थुनछेक बहसबाट पुर्पक्षका लागि थुनामा राखिएको थियो । पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र प्रतिरक्षामा दैलेख जिल्ला अदालतका वैतनिक वकिल टेकबहादुर केसीले बहस गरेका थिए ।

Womui
Womui